राप्रपाले भन्यो सरकारमा जाँदैनौँ, तर देउवा अझै फकाउँदै

साउन १४, काठमाडौं–आफ्नो दललाई सरकार विस्तारमा सहभागी नगराएपछि राप्रपाले सरकारमा नजाने निर्णय गरेको छ । राप्रपाको शुक्रबार बसेको पदाधिकारी बैठकले आफ्नो दलसँग प्रभावकारी संवाद नै नगरी सरकार विस्तार गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।
‘सकारमा धेरै विषयमा अस्पटता देखियो । संविधान संशोधनप्रति संवेदनशील देखिएन, भन्नलाई मात्र संशोधनको रटान सरकारले लिएको देखियो,’ राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘पावर सेयरिङमा समेत चौथो शक्तिलाई सम्मानजनक व्यवहार भएन, त्यसैले हामीले वर्तमान सरकारमा नजाने निर्णय गरेका हौँ ।’
सरकारलाई समर्थन गरेको राप्रपा पहिलो चरणमै सरकारमा जान तयार भए पनि आफूहरूलाई सम्मानित मन्त्रालय दिन नखोजेको उनले जानकारी दिए । ‘भन्नलाई चारवटा मन्त्रालय दिने भनियो, तर, विजयकुमार गच्छदारले रोजेको मन्त्रालय पाउने, हामीले चाहिँ छोडेको मन्त्रालय लिनुपर्ने भएपछि सरकारमा नजाने भएका हौँ,’ उनले भने । सरकारमा सहभागिताका लागि प्रधानमन्त्री देउवाले गम्भीर रूपमा छलफलसमेत नगरेको विषयमा राप्रपाको बैठकमा चर्चा भएको थियो ।
संगठन सुदृढीकरणमा लाग्ने
सरकारमा जाने बाटो बन्द गरेको राप्रपाले अब पार्टी संगठनमा केन्द्रित हुने निर्णय गरेको छ । यसका लागि भदौभित्र प्रदेश अधिवेशन गर्ने भएको छ । राप्रपाले प्रदेशको अधिवेशनको ठाउँसमेत टुंगो लगाएको छ । प्रदेश नम्बर १ को झापामा, प्रदेश २ को तेस्रो चरणको निर्वाचनपछि गर्ने, ३ को हेटौँडामा, ४ को पोखरामा, ५ को नेपालगन्जमा, ६ को सुर्खेत र ७ को महेन्द्रनगरमा अधिवेशन गर्ने भएको हो । विधानबमोजिम राप्रपाले राजेन्द्र लिङ्देनलाई संगठन विभाग प्रमुख र संयोजित संगठन विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

थापाले भने, आन्तरिक एकता कायम गरौँ
अध्यक्ष कमल थापाले पार्टीमा केही समययता देखिएको असन्तुष्टिलाई आपसी समझदारीमा हल गर्नुपर्ने बताएका छन् । पदाधिकारी बैठकमा थापाले केही समययता देखिएको असन्तुष्टिलाई आपसी समझदारीबाट हल गर्न आफू तयार रहेको बताएका थिए ।
समर्थन फिर्ता तत्काल नलिने राप्रपाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । तर, उपयुक्त समयमा निर्णय लिने भन्दै पुनः सरकारमा जोडिन सक्ने बाटो भने बाँकी राखेको छ । ‘सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको छैन,’ प्रवक्ता श्रेष्ठले भने, ‘उपयुक्त समयमा यसबारेमा टुंगोमा पुग्छौँ । समर्थन फिर्ताको वातावरण कस्तो हुन्छ भन्ने विषय सरकारको क्रियाकलापमा भर पर्छ ।’यो समाचार नयाँ पत्रिकावाट लिएका हौ ।यो समाचार नयाँ पत्रिकावाट लिएका हौ ।

प्रधानमन्त्रीले पहल जारी राख्ने
कांग्रेस नेता रमेश लेखक प्रधानमन्त्री देउवा राप्रपासहितका अन्य दललाई पनि सरकारमा ल्याउन तयार रहेको जानकारी दिए । ‘प्रधानमन्त्रीले दलहरूलाई मिलाएर संविधान कार्यान्वयन गर्ने, स्थानीय तहको निर्वाचन गर्ने, संविधानमा सबैको अपनत्व बढाउन पहल गर्दै आउनुभएको छ,’ लेखकले नयाँ पत्रिकासँग भने, ‘केही मन्त्रालय अझै खाली छन् । राप्रपा मात्र होइन, अरू दललाई पनि सरकारमा ल्याउन प्रधानमन्त्रीले अझै पहल गर्नुहुन्छ ।’ राप्रपालाई चारवटा मन्त्रालय दिएर सरकारमा ल्याउन खोजे पनि सो पार्टीको आन्तरिक समस्या पनि उनीहरू नआउनुको कारण हुन सक्ने उनले जानकारी दिए ।
अझै पनि उदार भएर राप्रपालाई सरकारमा ल्याउन सकिने बाटो अन्त्य नभएको उनको भनाइ छ । ‘बाँकी चारवटा मन्त्रालय मात्र होइन, अरू मन्त्रालयमा हेरफेर गरेरसमेत उहाँहरूलाई सरकारमा ल्याउने बाटो बन्द भएको छैन,’ लेखकले भने । कांग्रेसभित्र पहिलोपटककै सरकार विस्तारमा राप्रपालाई ल्याउनुपर्ने विषयमा केही नेताले अडान लिएका थिए । ३७ सिट रहेको राप्रपालाई विपक्षी मोर्चामा जान दिँदा सरकार बलियो नहुने, संविधान संशोधन टर्ने भन्दै केही नेताले पार्टी नेतृत्वलाई दबाब पनि दिएका थिए

यी हुन् बाँकी मन्त्रालय
उद्योग, वन, शान्ति तथा पुनर्निर्माण र विज्ञान तथा प्रविधि मन्त्रालय प्रधानमन्त्रीसँगै छन् । राप्रपालाई सरकारमा ल्याउन भन्दै चारवटा मन्त्रालय प्रधानमन्त्री देउवाले आफैँ राखेका हुन् । प्रधानमन्त्री चयन भएको ४९औँ दिनमा सरकार विस्तार गरेका देउवाले गत बुधबार १९ मन्त्री चयन गरेका थिए ।