देउवाकै बोलीमा ओली : ‘प्रदेश र प्रतिनिधिसभा चुनाव एकै पटक’

साउन १४, काठमाडौं–समयसीमा अत्यन्त कम रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा चुनाव एकै पटक गर्न निर्वाचन आयोग पदाधिकारीसँग छलफल गरेकै भोलिपल्ट प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले पनि यही प्रस्ताव अघि सारेका छन्। निर्वाचन तयारीबारे सरकारलाई झकझकाउन पुगेका आयोग पदाधिकारीसँग प्रधानमन्त्री देउवाले बिहीबार दुइटै चुनाव एकै पटक सम्पन्न गर्दा के हुन्छ भनी छलफल चलाएका थिए।

एक साता लामो तिब्बत भ्रमणबाट शुक्रबार फर्केका ओलीले पनि प्रतिनिधिसभा चुनाव हुन नसके राजनीतिक र संवैधानिक संकट उत्पन्न हुने भन्दै दुवै चुनाव एकै पटक गर्न प्रस्ताव गरेका हुन्। ‘माघ ७ सम्म सबै चुनाव गर्नैपर्छ। कमसेकम प्रतिनिधिसभाको चुनाव त हुनैपर्छ,’ ओलीले भने, ‘प्रतिनिधिसभाको चुनाव हुन सकेन भने संवैधानिक संकट आउँछ।’ संविधानअनुसार चरणबद्ध चुनाव गर्ने समय नरहेको भन्दै उनले प्रदेश र प्रतिनिधिसभाको चुनाव एकै पटक गर्न प्रस्ताव गरेका हुन्। प्राविधिक रूपमा दुवै चुनाव एकै पटक गर्न नसकिने भए प्रतिनिधिसभा चुनाव पहिले गर्नुपर्ने उनको प्रस्ताव छ।

ओलीले सरकार र निर्वाचन आयोग दुवैले सम्भावित संकटबारे ख्याल गर्नुपर्ने स्मरण गराए। प्रतिनिधिसभा गठन भए त्यसले सरकार निर्माणलगायत काम गर्ने र संवैधानिक राजनीतिक संकटबाट बचाउने मूल्यांकन एमालेको छ। प्रतिनिधिसभा चुनाव हुन सकेन र संसद् आएन भने अहिलेको रूपान्तरित संसदको समय सकिएर संवैधानिक राजनीतिक शून्यताको अवस्था आउन सक्ने आशंका एमाले नेताहरूले गरेका छन्। अध्यक्ष ओलीले त्यही अवस्थाबारे शुक्रबार सत्तारूढ दल र निर्वाचन आयोगलाई सचेत गराउन खोजेका हुन्। ओलीले चरणबद्ध चुनाव गर्ने समय नरहेकाले एकै पटक गर्ने गरी वातावरण मिलाउनुपर्ने उल्लेख गरे। त्यसका लागि समानुपातिक र प्रत्यक्ष निर्वाचनको मतपत्र एउटै बनाउन सकिने ओलीले उल्लेख गरे। दलको उम्मेदवारले ल्याएको मतलाई नै पार्टीले पाएको मत मानी समानुपातिक सिट बाँडफाँट गर्नु उपयुक्त हुने ओलीले बताए। यससम्बन्धी प्रस्ताव एमाले सांसदहरूले संसदमा विचाराधीन विधेयकको संशोधनका क्रममा पनि राखेका छन्। उनीहरूले राखेको प्रस्तावमा प्रत्यक्ष र समानुपातिकको मतपत्र एउटै हुने गरी व्यवस्था गर्न सकिने उल्लेख छ। ‘धेरै मतपत्र हुन्छन् भन्ने कुरालाई यसले समाधान गर्न सक्छ,’ ओलीले भने, ‘प्रत्यक्षबाट प्राप्त गरेको मत समानुपातिकमा राख्दा हुन्छ, संवैधानिक संकटको अवस्था आउन नदिन सरकार र निर्वाचन आयोगले यो पक्षमा ध्यान दिनुपर्छ।’

ओलीले संविधान संशोधनको विषय अझै पनि उठिरहेको भन्दै आपत्ति जनाए। चुनावअघि संविधान संशोधन गर्ने समय नै नरहेको उल्लेख गर्दै उनले सबै चरण सकिएपछि भने छलफल गर्न सकिने बताए। उनले स–साना कुरामा निहुँ खोजेर लोकतान्त्रिक प्रक्रियाबाट बाहिर नजान राजपालाई पनि सुझाव दिए। ‘प्रदेश र प्रतिनिधिसभाको चुनाव नसक्दासम्म संविधान संशोधन हुन सक्दैन,’ उनले भने, ‘स–साना कुरामा निहुँ खोजेर लोकतान्त्रिक प्रक्रियाबाट पर भाग्ने र सधैं अस्थिरतामा मात्र लैजाने कुरा हुन सक्दैन।’ दलीय स्वार्थ र मतभेदको कुरालाई जोडेर लोकतन्त्रलाई अप्ठ्यारो पार्ने काम नगर्न उनले सुझाव दिए।

सत्तारूढ प्रमुख दल कांग्रेसले गरेको दाउपेचको राजनीतिका कारण राजपा चुनावमा सहभागी नभएको आरोप ओलीले लगाए। ‘सहमति गर्ने कांग्रेस, त्यो पालना नगर्ने कांग्रेस अनि एमालेलाई देखाएर आफू पन्छिन खोज्छ, यो कुरा राजपाले पनि राम्ररी बुझेको होला,’ ओलीले भने, ‘राजपा दोस्रो चरणको चुनावमै भाग लिन सक्थ्यो तर कांग्रेसको आफू जित्ने दाउपेचका कारण आउन दिएन।’ अहिले तेस्रो चरणमा हुन लागेको प्रदेश २ को चुनावमा पनि राजपालाई कांग्रेसले बाहिर राख्न खोजिरहेको ओलीको आरोप थियो। उनले कांग्रेसको दाउपेच बुझेर चुनावमा भाग लिन राजपालाई आग्रह गरे।
l