आफूबिनै सरकार विस्तारपछि राप्रपाले भंग गर्यो वार्ता समिति

 

साउन १२, काठमाडौं- संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागिताका लागि वार्ता गर्न बनाएको समिति भंग गरेको छ।

राप्रपाले बुधबार विज्ञप्ति जारी गर्दै जयन्त चन्द नेतृत्वको तीन सदस्यीय वार्ता समिति भंग गरेको जनाएको हो। ‘हामीले सरकारमा नजाने निर्णय गरिसक्यौं, अब वार्ता समितिको औचित्य छैन, त्यही भएर समिति भंग गरेका हौं,’ समिति सदस्य दिलनाथ गिरीले सेतोपाटीसँग भने।

३७ जना सांसद रहेको राप्रपाले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको थियो। आफूले समर्थन गरेको सरकारमा सहभागी हुन राप्रपाले वार्ता समिति बनाएको थियो। तर संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमा राप्रपाले आफ्ना सबै सांसदले पक्षमा मतदान गर्ने ग्यारेन्टी दिन नसकेपछि सत्तारुढ दलले राप्रपालाई सरकारमा ल्याउन आनाकानी गरेका थिए।

बुधबार प्रधानमन्त्री देउवाले राप्रपालाई बाहिरै राखेर मन्त्रिमण्डल विस्तार गरेपछि राप्रपाले समिति भंग गरेको हो।