काठमाडौंमा जमिनमुनिबाट विद्युत वितरण यही वर्ष सुरु हुने

 

साउन १० ,काठमाडौं – राजधानीमा यसै वर्षदेखि बिजुलीका तार आकाशबाट हटाएर भूमिगत गर्ने काम सुरु हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणले महारागन्ज वितरण केन्द्रले बिजुली प्रणाली भूमिगत गर्न टेन्डर आह्वान गरेको छ। आइतबार प्राधिकरणले ६० दिने म्याद दिएर टेन्डर आह्वान गरेको हो।

एसियाली विकास बैंकको ऋण सहयोगमा काठमाडौं विद्युत प्रणाली भूमिगत गर्न लागिएको हो।

केही दिनभित्रै रत्नपार्क वितरण केन्द्रको वितरण प्रणाली भूमिगत बनाउनका लागि पनि टेन्डर आह्वान गर्ने प्राधिकरणको तयारी छ।

प्राधिकरणको मध्य तथा उत्तर काठमाडौं उपत्यका वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख अभिषेक अधिकारीले सन् २०१८ को फेब्रुअरी ठेक्काको काम सकेर तार भूमिगत बनाउने काम सुरु हुने बताए।

‘काम सुरु भएको ३० महिनामा सक्ने लक्ष्य छ, अहिले हामी यसलाई नमूना परियोजनाका रूपमा अगाडि बढाउँछौं पछि पुरै उपत्यकाको वितरण भूमिगत गर्ने लक्ष्य छ’, अधिकारीले भने।

महाराजगन्ज र रत्नपार्क वितरण केन्द्र प्राधिकरणका करिब ९० हजार ग्राहक छन्। वितरण प्रणाली भूमिगत बनाएसँग ती ग्राहकका घरमा स्मार्ट मिटर जोड्ने काम पनि सँगै हुनेछ।

प्राधिकरण प्रवक्ता प्रवल अधिकारी अनुसार यही परियोजना अन्तर्गत डिस्ट्रिब्युसन अटोमेसन प्रणाली पनि राखिनेछ।

त्यो प्रणाली राख्दा स्वचालित सूचनाका आधार माग अनुसार विद्युत वितरण हुने र अफिसबाट बिल नतिर्ने ग्राहकको लाइन काट्न सकिने अधिकारीले बताए। ‘तार मात्र भूमिगत बनाउने होइन, योसँगै काठमाडौंको वितरण प्रणाली आधुनिक पनि बनाउन लागेका हौं’, अधिकारीले भने।

आयोजना प्रमुख अधिकारीका अनुसार सडक खन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ प्रविधि अपनाउने पनि तयारी भइरहेको छ।

‘यो प्रविधि अपनाउँदा केही मिटरको दुरीमा दुई खाल्डा खनेर बीचमा भूमिगत तरिकाले नै पाइप हाल्न सकिन्छ,’ अधिकारीले भने, ‘खाल्डा खनेका ठाउँमा पनि दश दिनभित्र कालोपत्रे गरिसक्ने गरी सबै निकायका प्रतिनिधि रहेको समिति बनाएका छौं।’