सत्तापक्षले चाहे जसरी संशोधन हुन सक्दैन: एमाले नेता खनाल

 

साउन ७, काठमाडौ— एमाले वरिष्ठ नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनबाट एमालेलाई पहिलो शक्ति बन्न कसैले रोक्न नसक्ने बताउदै पहिलो शक्ति बन्ने पक्का भएको बताएका छन् । पहिलो र दोश्रो चरणको निर्वाचनले एमालेको जनमत देखाइसकेको भन्दै उनले प्रदेश नं. २ मा असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो शक्ति बन्न कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

नेकपा एमाले जिल्ला कमिटी म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको ३९ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गदै २०६२/०६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्यसँगै पुष्पलालले परिकल्पना गरेको जनबादी क्रान्ति पूरा भएको भन्दै नेता खनालले अबको आन्दोलन, नीति तथा कार्यक्रम समाजबाद उन्मुख भएको बताए । लोकतन्त्रलाई बलियो बनाउन संविधानलाई परिर्वतनशील दस्तावेजको स्वीकार्य गरिएपनि अहिले सत्तापक्षले चाहे जसरी संविधान संशोधन हुन नसक्ने उनले बताए ।

‘संविधान संशोधन गर्न सकिन्छ तर, यसको पनि निश्चि समय र औचित्य हुनुपर्छ । स्थानीय, प्रदेश र राष्ट्रियसभाको निर्वाचनपछि मात्रै संविधान कार्यान्वयन हुनेछ’, उनले भने, ‘तीनै चरणको निर्वाचनपछि यसबारे सोच्न सकिन्छ । निर्वाचनअघि यो संभव छैन ।’ कम्प्युनिष्ट पार्टीभित्र गुटबन्दी महारोग भएको उल्लेख गर्दै वरिष्ठ नेता खनालले भने, ‘त्यसलाई व्यवस्थापन गर्न नसक्दा हामीले ०५२ भन्दा अघि थुप्र्रै पटक राम्रा–राम्रा अवसर गुमायौँ । ’

साभार नयाँ प्रत्रिका