गाउँ/नगरबाट पनि मतदाताको नाम संकलन

श्रावण ४, काठमाडौ –निर्वाचन आयोगले गाउँ÷नगरपालिकाबाट पनि फोटोसहितको मतदाता सूचीमा नाम दर्ता र अद्यावधिक गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पुगेर मात्रै मतदाता सूचीमा नाम दर्ता र अद्यावधिक गर्न सकिने व्यवस्था गरेकोमा आयोगको मंगलबारको बैठकले गाउँ÷नगरपालिका कार्यालय, जिल्ला निर्वाचन कार्यालय र क्षेत्रीय निर्वाचन कार्यालयबाट पनि यस्तो काम गर्न सकिने निर्णय गरेको हो । यसअघि मतदाता नामावलीमा नाम लेखाउन साउन १ देखि १५ गतेसम्मको समय तोकेको आयोगले अब गाउँ÷नगरपालिका कार्यालयबाट साउन १६ देखि ३२ गतेसम्म मतदाता नामावलीमा नाम लेखाउन सक्ने व्यवस्था गरेको छ । साउन १ देखि सञ्चालन भएको क्षेत्रीय र जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता र अद्यावधिक गराउने कार्य भने प्रदेशससभा र प्रतिनिधिसभा निर्वाचन मिति घोषणा नभएसम्म गर्न सकिनेछ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रमलाई हाल कायम रहेका गाउँ÷नगरपालिका स्तरसम्म पु¥याई सुगम तथा प्रभावकारी बनाउने निर्णय भएको बताए । ‘यसअघि ७५ जिल्लास्थित क्षेत्रीय÷जिल्ला निर्वाचन कार्यालयमा १५ गतेसम्मका लागि मात्र नाम दर्ता कार्यक्रम सञ्चालन भइरहेकोमा त्यसमा थप परिमार्जन गरी स्थानीय तहबाट पनि दर्ता गर्ने निर्णय भएको छ,’ शर्माले भने, ‘जिल्ला सदरमुकाम रहेको स्थानीय तहको हकमा सम्बन्धित क्षेत्रीय÷जिल्ला निर्वाचन कार्यालयमा हाल सञ्चालन भइरहेको मतदाता नामावली दर्ता कार्यक्रमलाई निर्वाचन मिति घोषणा नभएसम्मका लागि निरन्तरता दिने र बाँकी गाउँ÷नगरपालिका (स्थानीय तह) कार्यालयहरूमा साउन १६ देखि ३२ गतेसम्म मतदाता नामावली दर्ता गर्ने निर्णय भएको छ ।’

प्रमुख दल नेपाली कांग्रेस र एमालेले मतदाता नामावली दर्ताका लागि आयोगले तोकेको साउन १ देखि १५ गतेसम्मको समय थोरै भएको र नाम दर्ता गराउन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमै जानुपर्ने प्रावधान व्यावहारिक नभएको भन्दै आयोगमा ज्ञापनपत्र बुझाएपछि आयोगले पायक पर्ने गाउँ÷नगरपालिकाको केन्द्रमा गएर मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको हो । आयोगले साउन १६ देखि २० गतेसम्म गर्ने भनिएको मतदाता नामावलीमा दाबी विरोध निर्वाचन मिति घोषणा भएपपछि मात्रै गर्ने निर्णय गरेको छ ।
आयोगको निर्णयसँगै उमेर पुगेर पनि मतदाता नामावलीमा नाम लेखाउन छुटेका नागरिकले अब मतदाता नामावलीमा नाम लेखाएर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले फोटोसहितको नामावलीमा नाम नभएका नेपाली नागरिकले नागरिकता लिएर साउन १६ देखि ३२ गतेसम्म गाउँ÷नगरपालिका कार्यालय र अन्य समयमा जिल्ला निर्वाचन कार्यालयमा पुगेर फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन सक्ने बताए ।

तर अब मतदाता नामावलीमा नाम लेखाएका मतदाताले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा भने मतदान गर्न पाउनेछैनन् । ‘स्थानीय तह निर्वाचनका लागि फागुन ९ गतेसम्म नै अन्तिम हो, त्यतिबेलासम्म नाम लेखाएका २ नम्बर प्रदेशका मतदाताले मात्रै स्थानीय तहको तेस्रो चरण निर्वाचनमा मतदान गर्न पाउँछन्,’ आयोगका प्रवक्ता शर्माले भने, ‘अब नाम लेखाउने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि हो ।’ यसअघि फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएकाले पुनः नाम लेखाउनु पर्दैन । यसअघि आयोगले गत फागुन ९ गतेसम्म मतदाता नामावलीमा नाम लेखाएका नागरिकले स्थानीय तह निर्वाचनमा मतदान गर्न पाउने निर्णय गरेको थियो । फागुन ९ गतेसम्म मतदाता नामावलीमा नाम लेखाएका १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता छन् ।

आयोगले स्थानीय तह निर्वाचनका लागि फोटोसहितको मतदाता नामावली परिचयपत्र अनिवार्य गरेको थियो । प्रमुख निर्वाचन आयुक्तसहित आयोगका पदाधिकारीले दुईसाता पहिले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधानअनुसार माघ ७ भित्र बाँकी ३ वटा  निर्वाचन गर्नुपर्ने व्यवस्था बमोजिम २०७४ असोज अन्तिम साता प्रदेशसभा निर्वाचन, कात्तिक दोस्रो साता राष्ट्रियसभा निर्वाचन र मंसिर पहिलो साता प्रतिनिधिसभा निर्वाचन गराउन प्रस्ताव गरेको थियो ।