प्रधानमन्त्रीले राजपा नेताहरुलाई भने, ‘सशोधन विधेयक तुरुन्तै मतदानमा’

 

श्रावण ४, काठमाडौ – सरकारले संविधान संशोधन विधेयक संसद्‌मा तुरुन्तै मतदान प्रक्रियामा लैजाने राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरुलाई बताएको छ । राजपा नेताहरुलाई बुधबार बालुवाटार बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवाले संशोधन विधेयक तुरुन्तै मतदान प्रक्रियामा लैजाने बताएका हुन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले भनेका छन्, ‘संशोधन गर्न दुई तिहाईको लागि प्रयास गरिरहँदा ढिलाई भयो, अब तत्काल दुई तिहाई पुर्‍याउने प्रयाससहित मतदानमा लैजानेछु ।’तर उनले दुई तिहाई बहुमत पुग्ने ग्यारेन्टी भने गरेनन् ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ।

बैठकमा राजपा नेताहरुले आफ्नो कुनै पनि माग सरकारले सम्बोधन नगरेको भन्दै असन्तुष्टि जनाएका थिए । बालुवाटार पुगेका राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुर, राजेन्द्र महतोलगायतले पारित नहुने संविधान संशोधन प्रस्ताव मतदान प्रक्रियामा नलैजान आग्रह गरेका थिए । राजपा नेताहरुले यसअघि प्रतिपक्षी एमालेलगायत दलसँग विधेयकमा समर्थनका लागि संवाद गर्ने बताउँदै आएका थिए ।

बैठकमा प्रधानमन्त्री देउवाले मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता, घाइतेको उपचार, मृतकलाई सहिद घोषणा, परिवारलाई क्षतिपूर्ति दिने विषयमा तुरुन्तै सरकारले निर्णय गर्ने पनि प्रधानमन्त्रीले बताएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।

बुधबारको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, सीतादेवी यादव, विमलेन्द्र निधि, माओवादी नेता नारायणकाजी श्रेष्ठलगायत थिए । त्यस्तै, राजपाबाट नेता ठाकुर, महतो, अनिल झा लगायत सहभागी भएका थिए ।