टीकापुरमा किन हार्‍यो फोरम ?

 

असार २१,धनगढी – फोरम लोकतान्त्रिकले कैलालीको टीकापुर क्षेत्र गुमाएको छ। मंगलबार सार्वजनिक परिणामअनुसार टीकापुर नगरपालिकामा गणना सुरु भएदेखि तेस्रो नम्बरमा रहेका एमालेका तपेन्द्र रावलले मेयरमा बाजी मारे।

माओवादी केन्द्रका ललित थापालाई ३४९ मतले पछि पार्दै रावलले मेयरमा जितेका हुन्। रावलले ५९५९ मत ल्याए भने थापाले ५६१० मत। उपमेयरमा कांग्रेसकी केशरी विष्ट ६२२६ मत ल्याएर विजयी भइन्। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका आशाकुमारी चौधरीले ५५५३ मत ल्याइन्। तीन दिनसम्म फोरम लोकतान्त्रिकका लौटन चौधरी अग्रस्थानमा रहेकाले टीकापुरमा फोरमले जित्ने अनुमान गरिएको थियो। फोरम उम्मेदवार लौटनले ५४८१ मत ल्याए भने उपमेयरमा फोरमकै सुदेशनी चौधरीले ५११८ मत ल्याइन्।

कांग्रेसका मेयर उम्मेदवार जंगबहादुर साउदले ५५२५ मत ल्याए भने एमालेबाट उपमेयरकी उम्मेदवार कमला केसीले ५०३८ मत ल्याइन्। ११ वडा रहेको टीकापुरका ४ वडामा फोरम, ३ वडामा एमाले, ३ वडामा माओवादी र एक कांग्रेसले जितेको छ। फोरम लोकतान्त्रिकले टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिकामा जित्ने दाबी गरेको थियो। कैलालीका १३ स्थानीय तहमध्ये फोरमले जानकी गाउँपालिकामा मात्रै जित हासिल गरेको छ। २०७० सालको निर्वाचनमा कैलाली–१ बाट लोकतान्त्रिक फोरमका जनक चौधरी विजयी भएका थिए। त्यतिबेला क्षेत्र नम्बर १ मा साविकको टीकापुर नगरपालिका, धनसिंहपुर, नारायणपुर, दुर्गौली, पथरैया र मुनुवा गाविस थिए। स्थानीय तहको पुनःसंरचनासँगै टीकापुरमा धनसिंहपुर र नारायणपुर गाविस गाभिए भने दुर्गौली, पथरैया र मुनुवामा जानकीनगर गाविस गाभेर जानकी गाउँपालिका बनाइयो।

फोरमले हार्नुमा टीकापुरमा नारायणपुर र धनसिंहपुर जोडिनु पनि रहेको पार्टी निकटस्थ बताउँछन्। फोरमबाट मेयरमा उम्मेदवार बनेका लौटन चौधरी थारू समुदायभित्र लोकप्रिय नेता मानिन्छन्। ‘हामीले, गाउँ–गाउँसम्म गएर समय दिन सकेनौं, हारको मुख्य कारण त्यही हो’, लौटनले पराजयपछि भने। टीकापुरको वडा नम्बर ३ मा फोरमबाट वडाध्यक्ष जितेका रामसेवक चौधरी पनि आफूहरूले गाउँगाउँमा गएर समय दिन नसकेकाले मेयरमा हार्नुपरेको बताउँछन्।