महन्थ ठाकुरले भने, ‘मधेसमा हिजोसम्म एमालेप्रति आक्रोश थियो, अब कांग्रेसतिर सर्‍यो’

असार १४ ,काठमाडौं – कांग्रेस-माओवादी सत्ता गठबन्धनसँग तीनबुँदे सहमति गरेको एक वर्ष पुग्न लाग्दासम्म आफ्ना माग सम्बोधन नभएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले आक्रोश प्रकट गरेका छन्। उनले एमालेप्रति देखिएको आक्रोश अब कांग्रेसतिर सरेको जिकिरसमेत गरे। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढालेर गत वर्ष साउन १९ मा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल चुन्नुअघि मधेसी मोर्चासँग कांग्रेस र माओवादीले तीनबुँदे सहमति गरेका थिए। जेठ अन्तिम साता अर्को तीनबुँदे सहमति गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चुनिए पनि राजपाको मत उपयोग मात्रै गरेको यसका नेताहरूको गुनासो छ।

‘भेट्दाखेरि तीनबुँदे बमोजिम संविधान संशोधन, स्थानीय तहको संख्या थप, मुद्दा फिर्ता तत्काल गर्छौं भन्नुहुन्छ, तर कहिल्यै गर्नुहुन्न, पहिले एमालेप्रति मधेसमा रियाक्सन थियो, अब त्यो कांग्रेसतिर सरेको छ,’ मंगलबार कान्तिपुरसँग राजपा मुख्यालय बिजुलीबजारमा ठाकुरले भने, ‘सरकारको एक वर्षयताको ट्रयाक रेकर्ड हेर्दा यसले हाम्रो मुद्दा सम्बोधन गर्ला भन्ने विश्वास छैन। सरकार आफूले गर्नुपर्ने न्यूनतम कामसमेत गरेको छैन।’ ठाकुरले विगतका झूटा मुद्दा खारेज गर्न ध्यान दिनुको साटो बाँकेदेखि मोरङसम्मका विभिन्न जिल्लामा आन्दोलनकारी कार्यकर्तालाई सार्वजनिक अपराध मुद्दा चलाउन अघि सरेको आरोप लगाए। उनले चुनावी आचारसंहिता देखाएर अदालतले स्थानीय तहको संख्या थप्ने निर्णय रोकोस् भन्ने उद्देश्यले नै कमजोर कानुनी धरातल टेकेर सरकारले चुनाव घोषणा गरेको दाबी गरे।

‘अदालतलाई मात्रै दोष दिएर भएन नि, अदालतले त संविधानलाई नै आधार बनाएर व्याख्या गर्ने हो, अनि संसदमा संविधान संशोधनका लागि दुई तिहाइ पुगेन भन्नुहुन्छ, आफूले गर्नुपर्ने कामचाहिँ केही गर्नुहुन्न,’ ठाकुरले आक्रोश पोखे, ‘कांग्रेसले आफूले गर्नुपर्ने न्यूनतम काम पनि गरेको छैन। हामी राजनीतिक सेयर खोजिरहेका छौं, यसलाई तोडमोड गरेर व्याख्या गर्ने काम बढी भयो।’ उनले माग सम्बोधन नहुन्जेल चुनावमा भाग नलिन पाउने आफ्नो अधिकार भएको भन्दै बहिष्कार जारी राख्ने अडान दोहोर्‍याए।

ठाकुरले मंगलबार जारी गरेको वक्तव्यमा पनि सेना, सशस्त्र र जनपद प्रहरी परिचालन गरेर सरकारले जनतामा आतंक फैलाएको आरोप लगाइएको छ। अध्यक्षमण्डलका अर्का नेता अनीलकुमार झाले चुनाव बहिष्कारका क्रममा प्रदर्शनकारीमाथि सरकारले निर्मम व्यवहार गरेको भन्दै चुनावको सक्रिय बहिष्कार गर्ने बताए। राजपा शीर्ष नेताहरूले यस्तो भन्दै गर्दा यसै दलका केही नेता–कार्यकर्ता भने बुधबार हुने दोस्रो चरणको चुनावमा स्वतन्त्र हैसियतमा उठेका आफ्ना उम्मेदवार जिताउन सक्रिय छन्।