असार १०, काठमाडौँ। हिमाली र उच्च पहाडी छ जिल्लाका साविकका ४८ गाविसमा खाद्य असुरक्षाको उच्च जोखिममा देखिएका छन् ।
कृषि मन्त्रालयको नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (नेक्साप) अन्तर्गत सबै जिल्लामा गठित खाद्य सुरक्षा सञ्जालले गरेको अध्ययनका आधारमा यो तथ्यांक सार्वजानिक गरिएको हो । अध्ययन अनुसार धादिङका ५, गोरखाका ११, कालिकोटका ३, मुगुका १०, हुम्लाका १० र बाजुराका ९ं गाविस उच्चतम् खाद्य असुरक्षित अवस्थामा छन् । ति स्थानमा खाद्य आवश्यकता पुरा गर्न बाह्य साहयताको आवश्यकता रहेको खाद्य सञ्जालको अध्ययनले ठहर गरेको छ ।
गएको साल मङ्सिरदेखि फागुनसम्मको अवधिमा गरिएको यो अध्ययन अनुसार करिब ८७ हजार १ सय मानिस उच्चतम् खाद्य असुरक्षित अवस्थामा रहेका जनाइएको छ ।
यस अवस्थामा मानिसहरु सामान्य अवस्थाको भन्दा खाद्य उपभोगको उच्च अभावको सामना गर्नुपर्ने छ । सञ्जालले ती जिल्लामा यो अवस्था आउनुका कारणमा बालीनाली उत्पादनको हिसाबले हिउँदयामको खाली समय, खाद्य सञ्चितिमा गिरावट भई अल्पकालीन खाद्य अभावको अवस्था हुनु, भौगोलिक दुर्गमता, पशुजन्य र गैरकाष्ठ वन पैदावरबाट हुने आम्दानीमा आएको कमि र धादिङ एवम् गोरखामा भूकम्पले पारेको प्रभावलाई उल्लेख गरेका छन् ।