विद्युतीय संरचना भूमिगत गरिँदै

असार ९, काठमाडौँ। छरपस्ट अवस्थामा रहेका काठमाडौँ उपत्यकाका विद्युतीय तारहरु भुमिगत गरिने भएको छ । सरकारले सहरी सौन्दर्य बढाउने र विद्युतीय संरचनालाई क्रमशः भूमिगत गरेर सुरक्षित रुपमा विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ सो कार्ययोजना अगाडि बढाएको हो ।
संसारका धेरै जसो देशमा विद्युत् वितरण प्रणाली भूमिगत नै राखिएको छ । दुर्घटना कम गर्न र सहरी सौन्दर्य बढाउने लक्ष्यका साथ लामो समयदेखि चर्चा भए पनि काम अगाडि बढ्न नसकेको सन्दर्भमा पछिल्लो पटक ऊर्जा मन्त्रालयले पाइलट प्रोजेक्टका महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रको विद्युतीय संरचना भूमिगत गर्न लागेको हो ।
एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा विद्युत् प्रसारण वितरण कार्यदक्षता अभिवृद्धि आयोजनाअन्तगर्त विद्युत् प्रणाली भूमिगत गर्न लागेको हो । काठमाडौँ उपत्यकाभित्र महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रको ११ केभी र ४०० भोल्ट विद्युतीय संरचना भूमिगत गर्न लागिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।