सर्वोच्चले माग्यो निर्वाचन आयोगको निर्णयको सक्कल कागज

असार ६, काठमाडौँ। भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको बिषयमा सर्वोच्च अदालतले आज  निर्वाचन आयोगबाट भएको निर्णयको सक्कल झिकाउन आदेश दिएको छ ।
महानगरपालिकामा पुनः मतदान वा पुनःमतगणना भन्ने विवादमा आज फैसला गर्ने अपेक्षा गरिएपनि सर्वोच्चले सक्कल कागजहरु झिकाउन आदेश दिएको हो । कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासबाट भरतपुर प्रकरणको फैसला हुने अनुमान गरिएको थियो ।
सात दिनभित्र सक्कल कागज झिकाएर अदालतमा पेश गर्न आदेश भएको नेपाल बार एशोसियनका पूर्व उपाध्यक्ष टिकाराम भट्टराईले बताउनुभयो ।
रिट निवेदकको पक्षबाट बरिष्ठ अधिवक्ता शम्भु थापा, हरि उप्रेती, टिकाराम भट्टराईले बहस गरेका थिए । निर्वाचन आयोगको तर्फबाट बरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गर्नुभएको थियो ।
पहिलो चरणमा चुनाव भएको भरतपुर महानगरपालिकाको मतगणना चलिरहेका बेला माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि गणना स्थगित भएको थियो ।
आयोगको टोलीले छानविन गर्दा ९० ओटा मतपत्र च्यातिएको भेटिएको थियो । आयोगले छानविनपछि भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदानको लागि निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।