हनुमानढोका दरबार खतराको सूचीमा!

असार ६ ,काठमाडौं – हनुमानढोका दरबार स्क्वायरलाई युनेस्कोले विश्व सम्पदाको सूचीबाट हटाएर खतराको सूचीमा राख्ने सम्भावना बढेको छ। पोल्यान्डमा हुने आगामी १४१ औँ महासभाले खतरामा राख्ने सम्भावना रहेको पुरातत्व विभागका अधिकारीहरूले बताएका छन् ।

भूकम्पका कारण हनुमानढोका दरबारका धेरै ऐतिहासिक दरबार र मठमन्दिर पूर्ण वा आंशिक क्षति भएका छन्। ती मठमन्दिर पुनःनिर्माणको गति सुस्त छ। पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल यस्ता सम्पदा खतराको सूचीमा पर्नु राम्रो नभए पनि भत्किएका सम्पदाहरूलाई छिटो निर्माण गर्न नेपाल लगायत विश्वलाई नै दबाब सिर्जना गर्ने भएकाले नेपालका लागि सकारात्मक नै हुने धारणा राख्छन्। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।

वसन्तपुर क्षेत्रमा भूकम्पले क्षति पुर्‍याएका सम्पदा निर्माणका लागि विभिन्न मुलुकले जिम्मा लिएका छन् । त्यस क्षेत्रमा अमेरिकी राजदूत कोष (एम्बेस्डर फन्ड), चीन र जापानले विभिन्न मन्दिरको पुनःनिर्माणका लागि काम गरिरहेका छन् ।

यसैबीच, जर्मनी सरकारले पनि भूकम्पका कारण क्षति भएका सम्पदा निर्माणमा गरिदिने इच्छा व्यक्त गरे पनि कुन मन्दिर निर्माण गरिदिने भन्ने निर्णय भएको छैन । पुरातत्व विभागले जर्मनीलाई टेकु दोभानका भत्किएका सम्पदा निर्माण गरिदिन आग्रह गरे पनि उसको पहिलो चाहना भने भक्तपुरका सम्पदामा रहेको पुरात्व विभागले जनाएको छ ।

एकातिर विभिन्न सम्पदा पुनःनिर्माणका लागि आवश्यक रकम अपुग भएको सुनिन्छ भने अर्कातर्फ राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भने रकम दिन्छु भन्दा पनि सम्बधित निकायले लिन नआएको भनेर चिन्ता गरिरहेका छन् । चालु आर्थिक वर्षको अन्तिम महिनामा प्राधिकरणले सम्पदा पुनःनिर्माणका लागि निकासा भएको ५० करोड रुपियाँ माग नभएको जानकारी दिएको छ । पुरातत्व विभागका महानिर्देशक दाहालले भने, ‘समयमा बजेट निकासा नगरिदिने र आवको अन्तिममा रकम लिएर जा भनेर कहाँ कसरी खर्चनु ? खर्च गर्न नसकेको भनेर आरोप मात्र खेप्नुपर्छ त्यसैले थुप्रै सम्पदा निर्माण बाँकी हुँदा हुँदै हामीले उक्त रकम लिन मानेनौँ । ’

प्राधिकरणले दिन खोजेको रकम चालु आवभित्रै सकाउनु नपर्ने हो भने पशुपतिस्थित विश्वरूप मन्दिर निर्माणका लागि माग गर्न आफूहरू तयार रहेको पशुपति विकास कोषका सदस्य सचिव गोविन्द टण्डनले बताए। उनले भने, ‘रकम छ भन्ने जानकारी असार लाग्दा थाहा पायौँ । उक्त रकमबाट अर्को आवमा पनि काम गर्न पाइने हो भने विश्वरूप मन्दिरको पुनःनिर्माणका लागि हामी तयार छौँ । ’