श्रीलंकाद्वारा भारत ७ विकेटले पराजित 

जेठ २६, काठमाडौं – श्रीलंकाले रोमाञ्चक खेलमा भारतलाई ७ विकेटले पराजित गरेको छ। यसपालिको आइपिएलमा सर्वाधिक ३ सय २१ रन बनाएको भारतलाई ओवल मैदानमा ८ बल खेल्न बाँकी रहँदै श्रीलंकाले पराजित गरेको हो।

भारतले शिखर धवनको १ सय २५ रनको सहयोगले ३ सयभन्दा माथिको योगफल तयार पारेको थियो। तर, भारतीय बलरलाई निरास तुल्याउँदै श्रीलंकाको शीर्ष नम्बरका सबै ब्याट्सम्यानले उत्कृष्ट योगदान गरेपछि भारत पराजित भयो। श्रीलंकाले च्याम्पियन्स ट्रफीमा अहिलेसम्मकै ठूलो रन पछ्याएर जित निकालेको हो।

श्रीलंकाको जितसँगै समूह ‘बी’ तर्फको खेल रोचक मोडमा उभिएको छ। भारत, श्रीलंका, पाकिस्तान र दक्षिण अफ्रिका समावेश यो समूहमा ४ वटै टोलीले २ खेल खेल्दा १–१ वटा जित सम्भव पारेका छन् र सबैको समान २–२ अंक छ। अब ४ वटै टोलीले सेमिफाइनल प्रवेशका लागि आइतबार र सोमबार हुने अन्तिम खेललाई कुर्नु पर्नेछ।

आइतबार भारतको भिडन्त दक्षिण अफ्रिकासँग हुँदैछ। श्रीलंकाले सोमबार पाकिस्तानसँग भिडन्त गर्नेछ। यस खेलमा जुन टोली विजयी भयो, त्यो सेमिफाइनल पुग्ने छ।

भारतको विशाल योगफलको अगाडि श्रीलंकाले ११ रनमै आफ्नो पहिलो विकेट गुमाएको थियो। तर, दनुस्का गुनाथिलका र कुसल मेन्डिसको जोडीले दोस्रो विकेटका लागि १ सय ५९ रनको साझेदारी गरेपछि श्रीलंकाको जितको सम्भावना बढेर गएको थियो। दुवै खेलाडी रन आउट भए। तर, उनीहरुले जितको सम्भावनालाई नजिक ल्याएका थिए। गुनाथिलका ७६ र मेन्डिस ८९ रन बनाउदै आउट भए। मेन्डिसलाई उनको उत्कृष्ट खेलका लागि म्यान फ दि म्याच छानियो।

उनीहरु आउट भएपनि एञ्जेलो म्याथ्युस र कुसल परेराले खेललाई विजयसम्म डोर्याएका थिए। परेरा ४७ रन बनाएर रिटायर्ड हर्ट भए। उनको अनुपस्थितिमा म्याथ्युसले अविजित ५२ रन बनाए। परेराले रिटायर्ड हर्ट हुनुअघि म्याथ्युससँग मिलेर ७५ रनको अविजित साझेदारी गरिसकेका थिए। उनको स्थानमा आएका आसेला गुनारत्नेसँग मिलेर म्याथ्युसले फेरि अविजित ५१ रनको साझेदारी गरेका थिए। गुनारत्ने पनि ३४ रन बनाउदै अविजित रहे।

यसअघि पहिलो ब्याटिङ गरेको भारतका लागि धवन र रोहित शर्माको प्रारम्भिक जोडीले १ सय ३८ रनको साझेदारी गरेको थियो। रोहितले ७८ रन बनाए। कप्तान विराट कोहली शुन्यमा आउट भए। पूर्व कप्तान महेन्द्रसिंह धोनीले ६३ रन बनाएका थिए।