आन्दोलन भन्दै राजपा चुनावको तयारीमा

जेठ २३,राजविराज – राष्ट्रिय जनता पार्टीका एक वरिष्ठ नेता यतिबेला आफ्नो गृह क्षेत्र सप्तरीको हनुमानपुर-कंकालानी नगरापालिकाको मेयर-उपमेयरलगायत विभिन्न पदमा आफू अनुकुलको प्रभावशाली प्यानल मिलाउन ब्यस्त छन्। मधेस आन्दोलनका सहिद परिवारका एक जनालाई उम्मेद्वार बनाउन उनी भारदहमा रातको समयमा घन्टौं सक्रिय रहेको पार्टी निकटकै स्रोतको दाबी छ। ‘मधेस आन्दोनका एक सहिदकी पत्नीलाई पार्टीको टिकटमा उम्मेद्वार बनाउन उहाँ सक्रिय देखिनुभएको छ,’ स्रोतले भन्यो,‘पार्टीले चुनाव बहिष्कार गर्ने बताइरहँदा केन्द्रीयस्तरका बरिष्ठ यी नेताको रबैयाले स्थानीय कार्यकर्ता अन्यौलमा परेका छन्।’ यो खबर जितेन्द्रकुमार झाले आजको नागरिकमा लेखेका छन्।

६ मधेसवादी दलहरू एकीकरण भएर निर्माण भएको राजपा अझै पनि औपचारिक रूपमा आन्दोलनमै छ। चुनावको विरोधमै छ। शनिबार मात्रै राजपा सप्तरीले विज्ञप्ति निकालेर संविधान संशोधन नभइ चुनावमा नजाने तथा संविधान संशोधनको बाधक रहेको एमालेले सप्तरीमा गर्ने जुनसुकै कार्यक्रमको प्रतिवाद गर्ने जनाएको थियो। यसरी सार्वजनिक रूपमा चुनावको विरोध गरेको भए पनि राजपाका केन्द्रीयस्तरदेखि जिल्ला तहसम्मको नेतृत्व पंक्ति भित्रभित्रै चुनावको तयारीमा जुटेको स्रोतको दाबी छ। स्रोतका अनुसार भारतीय राजदूतले राजपालाई चुनावमा जान गरेको आग्रह, स्थानीय कार्यकर्ताको दबाब लगायतका कारण पार्टी नेतृत्वले आन्तरिक रूपमै भए पनि चुनावी तयारीलाई तिब्रता दिएको छ।