च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानको लज्जास्पद पराजय

 

जेठ २२, काठमाडौं – उमेश यादवले एकै ओभरमा २ विकेट लिएपछि भारतले पाकिस्तानविरुद्ध च्याम्पियन्स ट्रफीको पहिलो खेलमा १ सय २४ रनको विजय हात पारेको छ।

तीन पल्ट वर्षाले बिथोलेको एडबस्टनको खेलमा पाकिस्तानी ब्याट्सम्यान निकै फितलो देखिए। भारतले पहिलो इनिङमा बनाएको ३ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानका कुनै पनि ब्याट्सम्यान सक्षम देखिएनन्।

पाकिस्तानका लागि अहमद सेहजाद र अजर अलीको प्रारम्भिक जोडीले ४७ रनको साझेदारी गर्नु बाहेक अन्य कुनै ब्याट्सम्यान प्रभावशाली देखिएनन्। पाकिस्तानको तर्फबाट अजर मात्र यस्तो ब्याट्सम्यान देखिए, जसले ५० रनको अर्धतकीय इनिङ खेले।

मध्यक्रममा मोहम्मद हाफिजको ३३ रन केही सम्मानजनक देखियो। वर्षाले प्रभावित यस खेलमा भारतले ब्याटिङ गर्ने क्रममा खेललाई ४८ ओभरमा झारिएको थियो। जसमा भारतका ४ माथिल्ला ब्याट्सम्यानले अर्धसतक बनाए। प्रारम्भिक ब्याट्सम्यान शिखर धवन र रोहित शर्माले इनिङको सुरुवात ढिलो गरे पनि उनीहरुले १ सय ३६ रनको सतकीय साझेदारी गरेका थिए। भारतले अन्तिम ४ ओभरमा ७२ रन जोडेपछि ३ सय रनको योगफल कटाएको थियो।

भारतको इनिङमा युवराज सिंह र हार्दिक पाण्ड्याको ब्याटिङ लोभलाग्दो थियो। यिनीहरुले बिस्फोटक खेल्दै भारतलाई बलियो अवस्थामा पुर्याएका थिए। युवराजले ३२ बलमा १ छक्का र ८ चौकाको सहयोगले ५३ रन बनाए। उनी यसका लागि म्यान अफ दि म्याच घोषित भए। पुछारमा आएका पाण्ड्याले एकै ओभरमा तीन छक्का प्रहार गरेर सनसनी मच्चाएका थिए।

भारतका लागि धवनले ६८ र रोहितले ९१ रन बनाए। कप्तान विराट कोहली ६८ बलमा ३ छक्का र ६ चौकाको सहयोगले ८१ रन बनाउदै अविजित रहे। पाण्ड्या ६ बलमा २० रन बनाउदै अविजित रहे।

सुरुमा पाकिस्तानले डर्कवर्थ एन्ड लुइस नियमका कारण ४८ ओभरमा भारतले ३ सय १९ रन बनाए पनि ३ सय २४ रनको लक्ष्य पाएको थियो। तर, पाकिस्तानी इनिङमा पुनः वर्षा बाधक भएपछि ४१ ओभरमा २ सय ८९ रनको नयाँ लक्ष्य पाएको थियो।

पाकिस्तानका सबै ब्याट्सम्यान भारतीय बलरको अगाडि निरिह देखिए। उनीहरुले ३३ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय ६४ रन मात्र बनाए। वाहव रियाज चोटका कारण अन्त्यमा ब्याटिङ गर्न आएनन्। पाकिस्तानका १० ब्याट्सम्यानले मात्र ब्याटिङ गरे।