दोस्रो चरण निर्वाचनः कांग्रेस–एमालेलाई उम्मेदवार छान्ने चटारो, रणनीति बनाउँदै माओवादी

 
जेठ ८, काठमाडौं – दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनको तयारीमा दलहरु जुटेका छन् । उम्मेदवार तय गर्नेदेखि रणनीति बनाउनेसम्मको चटारोले दलहरुलाई छोपेको छ ।

दोस्रो चरणमा हुने ४६१ स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले १२ जेठसम्म सर्वसम्मत रुपमा उम्मेदवार चयन गर्न जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । ‘ग्राउन्ड रियालिटी’ बुझेर जित्न सक्ने उम्मेदवार जो हुन सक्छ त्यसलाई टिकट दिने तयारी छ,’ कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने ।
एमालेले दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार छान्ने प्रक्रिया अघि बढाएको छ । दुईवटा प्रदेशको उम्मेदवार टुंग्याइसकेको एमालेले बाँकी प्रदेशमा पाँच दिनभित्र सक्ने बताएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

दोस्रो चरण निर्वाचनबारे रणनीति बनाउन प्रमुख सत्तारुढ माओवादी केन्द्रको कार्यालयको बैठक सोमबार बस्दैछ । प्रवक्ता पम्फा भुसालले आगामी निर्वाचन कसरी फलदायी बनाउने भन्नेमा पार्टीको ध्यान केन्द्रित भएको बताइन् ।