दोलखाको जिरी, रसुवाको कालिका र मकवानपुरगढीमा एमाले विजयी

जेठ ३, काठमाडौं – स्थानीय तह निर्वाचनको मतगणनामा अग्रता लिइरहेको एमालेले थप एक नगरपालिका र दुई गाउँपालिकामा जित हासिल गरेको छ । दोलखाको जिरी नगरपालिका, रसुवाको कालिका गाउँपालिका र मकवानपुरको मकवानपुरगडीमा एमाले उम्मेदवार विजयी बनेका हुन् ।

दोलखाको जिरी नगरपालिकाको मेयरमा टंक जिरेल विजयी बनेका हुन् । जिरेलले ३२१२ मत पाए भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले १४०२ मत पाएका छन् ।
उता, रसुवाको कालिका गाउँपालिकामा एमालेकी सिता पौडेल प्रमुखमा विजयी भएकी छन् । उनी १४५८ मतका साथ विजयी बनेकी हुन् ।
उनको निकटतम प्रतिद्वन्दी कांग्रेसका साधुराम पौडेलले १२२५ मत ल्याए ।
उपप्रमुखमा एमालेकै भवानी न्यौपानेको पल्लभारी भएको छ । उनी १७०२ मतका साथ जित दर्ता गराउन सफल भएकी हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी शिला मगरले १४ सय ११ मत ल्याइन् ।

मकवानपुरको मकवानपुरगडी गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । त्यहाँ एमालेका विदुर हुमागाई जित दर्ता गराउन सफल भएका छन् ।