निर्वाचन अनुगमनका लागि आयोगद्वारा उच्चस्तरीय अनुगमन टोली गठन

वैशाख २९, काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन अनुगमन कार्यलाई  प्रभावकारी बनाउन अध्यक्ष अनुपराज शर्माको अध्यक्षतामा उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ ।
नागरिक समाजका प्रतिनिधिहरु समेत रहेको टोलीमा राष्ट्रिय मानव अधिकार आयोगका पुर्वअध्यक्ष केदारनाथ उपाध्याय, पुर्व सभामुख दमननाथ ढुङ्गाना, पुर्व निर्वाचन आयुक्त विरेन्द्र मिश्र, सुर्य ढुङ्गेल र अधिवक्ता मीरा ढुङ्गाना रहनुभएको  आयोगकी प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यसैबीच, आयोग र नेपाल सरकारका गृहसचिव तथा सुरक्षा निकायका प्रमुखसंग निर्वाचन सुरक्षा व्यवस्थाबारे छलफल भएको छ । सो अवसरमा आयोगका अध्यक्ष अनुपराज शर्माले निर्वाचनलाई शान्तिपुर्ण तथा मानव अधिकार मैत्री बनाउन सुरक्षा निकायको भुमिका महत्वपुर्ण हुने भन्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखहरुलाई आग्रह गर्नुभएको छ । मतदाताहरु सुरक्षा व्यवस्थाप्रति आश्वस्त हुनसके मात्र मतदान प्रक्रिया विश्वसनीय र सफल हुने उहाँको भनाई थियो ।