सात पद आठ चिह्न, यसरी भोट हाल्नुस् !

 

वैशाख २६ ,काठमाडौं – वैशाख ३१ मा हुन लागेको पहिलो चरणको स्थानीय तह निर्वाचनमा विजयी बन्न उम्मेदवारहरु मतदाताको घरदैलोमा छन् । सबैजसो उम्मेदवार आफ्ना पार्टीका घोषणापत्रअनुसारको प्रतिबद्धता जनाएर हिँडिरहेका छन् । तर, अधिकांश मतदाता भने निर्वाचनमा कसरी मत दिने भन्ने अन्योलमा देखिन्छन् ।

दलहरुले मतदान गर्न सिकाउनेभन्दा एजेन्डामा सहमत गराउन लागिपरेका कारण मतदाताहरु मत कसरी दिने भन्ने अन्योलमा परेका हुन् ।
‘दलका सबैजसो नेताले आएर भोट मागे, स्वस्तिक लागेको चिह्न पनि देखाए । तर, किन सात जनालाई मत हाल्नुपरेको र मन परेको उम्मेदवार कसरी छान्ने भन्ने विषयमा कसैले भनेनन्’, चन्द्रागिरी नगरपालिकास्थित संगम टोलकी माया श्रेष्ठको गुनासो छ ।

मतदातामा यस्तो अन्योलता देखिएपछि स्वयंसेवकमार्फत ठाउँ–ठाउँमा मतदानको तरिका सिकाउन थालेको आयोगले जनाएको छ । उसले ती स्वयंसेवामार्फत आफ्ना प्रतिनिधि चयन गर्न सात पदका लागि सात ठाउँमा छाप लगाउनु पर्ने सिकाइरहेको आजको राजधानी दैनिकले लेखेको छ ।