बैशाख १८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाअभियोग प्रस्तावले असहज परिस्थिति नआउने राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउन राष्ट्रपति कार्यालय, शीतल निवास बोलाइएका प्रधानमन्त्री प्रचण्डले महाभियोगले निर्वाचनलगायत काममा कुनै असर नपर्ने जानकारी राष्ट्रपतिलाई गराएका हुन् ।
राष्ट्रपतिले प्रधानमन्त्री प्रचण्डसँग प्रधानन्यायाधीशविरुद्धको महाअभियोग र त्यसपछि उत्पन्न हुने राजनीतिक परिस्थितीबारे जिज्ञासा राखेपछि प्रचण्डले यस्तो ब्रिफिङ गरेका हुन् ।
महाभियोगलले वैशाख ३१ को निर्वाचन प्रभावित हुन्छ कि भनेर राष्ट्रपतिले जिज्ञासा राखेपछि प्रधानमन्त्री दाहालले पहिलो चरणको निर्वाचनलाई यसले कुनै असर नपर्ने भन्दै राष्ट्रपतिलाई विश्वस्त पारेका थिए ।
‘न्यायापालिकाले कार्यपालिकामाथि गरेको अनावश्यक हस्तक्षेपको परिणाम महाभियोग हो,’प्रधानमन्त्रीले राष्ट्रपतिलाई गरेको ब्रिफिङ उद्धृत गर्दै प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहालले अनलाइनखबरसँग भने, ‘महाभियोगले निर्वाचनलगायतका कार्यसूचीमा कुनै असर गर्दैन ।’
प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएपछि राष्ट्रपति भण्डारीले सबै दल मिलेर राजनीतिक समस्याको समाधान निकाल्न सुझाव दिएकी थिइन् । जवाफमा प्रचण्डले सबैलाई मिलाएर अघि बढ्ने बताएको प्रधानमन्त्रीका स्वकीय सचिव दाहालले जानकारी दिए ।
राष्ट्रपतिको कार्यालय बालुवाटारमा राष्ट्रपति र प्रधानमन्त्रीवीच करिब एक घन्टा छलफल भएको थियो । महाभियोगलगायतका घटनाक्रम भएलगत्तै राष्ट्रपतिले प्रधानमन्त्रीलाई भेटका निम्ति बोलाएकी थिइन् ।