संविधान संशोधन प्रस्ताव संसद्मा पेस

वैशाख ११ काठमाडौँ । सरकारले संविधानसंशोधनका लागि नयाँ प्रस्ताव पेश गरेको छ । व्यवस्थापिका संसदको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ पेश गर्नुभयो । संबिधानको दोस्रो संशोधनका लागि यसअघि पेश गरेको संशोधन प्रस्ताव फिर्ता लिएको सरकारले आज नयाँ संशोधन प्रस्ताव पेश गरेको हो । मधेशकेन्द्रित दलहरुको माग सम्बोधन गर्न भन्दै सरकारले यसअघि संशोधन प्रस्ताव पेश गरेको थियो । तर, त्यसमा पनि मधेशकेन्द्रित दलहरु सहमत हुन नसकेपछि पहिलो संशोधन प्रस्तावलाई हेरफेर गरी नयाँ प्रस्ताव पेश गरिएको हो ।
संशोधन प्रस्ताव प्रस्तुत गर्दै मन्त्री नायकले संविधान कार्यान्वयन प्रक्रिया सरलीकृत बनाउन र संविधानको सर्वस्वीकार्यता बढाउन संविधान संशोधन ल्याइएको बताउनुभयो । संविधान कार्यान्वयन गरी निर्वाचनमा सबैलाई सहभागी हुने र निर्वाचनका लागि उपयुक्त वातावरण हुने गरी संशोधन ल्याइएको उहाँको तर्क छ ।
त्यसअघि संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापा मगरले प्रस्तुत गरेको विरोधको सूचनालाई संसद्को बहुमतले अस्वीकृत गरेको थियो ।
यसैगरी आजको बैठकले ‘विद्युत् नियमन आयोग विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा व्यवस्थापिका–संसद्, वातावरण संरक्षण समितिका तर्फबाट गणेशप्रसाद विमलीले ‘वनस्पति विधेयकलाई फिर्ता लिनेसम्बन्धी समितिको प्रतिवेदन, २०७३’ पेस गर्नुभएको थियो । संसद्को अर्काे बैठक भोली दिउसो १ बजे बस्नेछ ।