सरकारलाई एमालेको प्रश्न- चुनावको वीचमा बजेट ल्याउँदा आचार संहिता लाग्दैन ?

वैशाख १०, काठमाडौं – जेठको अन्तिम साता दोस्रो चरणको स्थानीय चुनाव गर्ने सरकार र मधेसी मोर्चाबीचको सहमतिलाई प्रतिपक्षी दल एमालेले खारेज गर्ने चेतावनी दिएको छ ।

शनिबारको सहमतिबारे अनविज्ञता प्रकट गरेको एमालेले बजेटपछि चुनाव गराउने कुरा संविधान, निर्वाचन आचारसंहिता र परम्परा तथा पद्दति कतैबाट पनि स्वीकार्य नहुने प्रष्ट पारेको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले समाचार सुनेका आधारमा प्रतिक्रिया दिन नसकिने भन्दै बजेटपछि चुनाव गराउने कुरा एमालेले सिधै खारेज गर्ने बताए ।

बालुवाटारमा शनिबार भएको समझदारीलाई ‘कथित सहमति’को संज्ञा दिँदै महासचिव पोखरेलले सरकार अनुत्तरदायी र गैरजिम्मेवारपूर्ण ढंगले तमासा देखाउन उद्यत रहेको आरोप लगाए ।

अनलाइनखबरसँग कुरा गर्दै महासचिव पोखरेलले भने- संविधानमा जेठ १५ गते बजेट ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था छ, अहिले राजनीतिक तहमा जेठ अन्तिम साता चनाव गर्ने भनेर जुन हल्ला आएको छ, यसबाट आचारसंहिता आकृष्ट हुन्छ कि हुन्न ? यो भनेको स्थानीय चुनावलाई सके टार्ने, नसके सार्ने ढंगले यो तानाबाना बुनिँदैछ ।

एमालेले राष्ट्रिय जीवनसँग गाँसिएका महत्वपूर्ण विषयप्रति सत्तापक्षले खेलवाड नगरोस् भन्ने चेतावनीसमेत दिएको छ । महासचिव पोखरेलले नेपाललाई नियन्त्रित अस्थिरतातर्फ लैजाने नियोजित खेलको गोटीका रुपमा वर्तमान सत्तापक्ष मतियार बनेको आरोप लगाए ।

संविधान संशोधन विधेयक फेरि परिमार्जन गर्ने सन्दर्भमा एमालेले कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको भनेको छ । महासचिव पोखरेलले भने- हिजो एउटा विधेयक ल्याए, आफैंले फिर्ता लिएर अर्को दर्ता गरे । अब त्यसमा पनि परिमार्जन गर्ने हल्ला छ । कसका लागि ल्याइएको हो, कसका लागि पारित गर्ने हो ? यसमा हाम्रो कुनै चासो र सरोकार छैन । चुनाव निर्धारित मितिमा हुनुपर्छ ।

मोर्चा र हामीलाई सँगै राख

शीर्ष बैठकहरुमा सहभागी रहँदै आएका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले एमाले र मधेसी मोर्चालाई सँगै राखेर छलफल गर्न सत्तापक्षले कहिल्यै नचाहेको आरोप लगाए । एमालेलाई मोर्चा देखाउने र मोर्चालाई एमाले देखाएर सत्तापक्ष चुनावबाट भाग्न खोजेको उनको आरोप छ ।

नेम्वाङले भने- हामीले पटक-पटक सत्तापक्षलाई भनेका छौं, मोर्चाका साथीहरुको माग के हो ? संविधान संशोधनमा कुन बुँदामा एमालेको के धारणा चाहिएको हो ? हामी बहस गर्छौं भन्दा उहाँहरु हामीलाई राख्नुहुन्न । यसबाटै गम्भीर षडयन्त्रको आशंका हुन्छ ।

प्रमुख प्रतिपक्षलाई थाहा नदिई चुनाव सार्ने सहमति गर्नु गैरजिम्मेवारीको पराकाष्ठा भएको भन्दै नेम्वाङले बजेटपछि चुनाव गर्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने र चुनाव टार्ने षडयन्त्रका रुपमा लिएको बताए ।

उनले भने- जुन हल्ला बाहिर ल्याइएको छ, त्यसो हो भने त कि संविधान संसोधन गरेर बजेट जेठ १५ गते ल्याउनुपर्ने व्यवस्था हटाउनुपर्‍यो, जुन कुरा सम्भव छैन । होइन भने जेठ अन्तिम साता दोस्रो चरणको स्थानीय चुनाव गराउने कुरा कुनै हालतमा मान्य हुन्न ।

बजेटलाई निर्वाचन आचारसंहिताले प्रभावित पार्ने भन्दै एमालेले बजेट भाषणमार्फत निर्वाचन प्रभावित पार्नेखालका कार्यक्रम ल्याएर चुनाव गराउने षडयन्त्र सफल हुन नदिने प्रष्ट पारेको छ ।