बार्सिलोना युभेन्ट्ससँग गोलरहित बराबरीमा रोकिएपछि मैदानमै रोए नेइमार

 

वैशाख ७ ,काठमाडौं – इटालियन क्लब युभेन्ट्ससँग च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा गोलरहित बराबरीमा टुँगिएपछि बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर नेइमार मैदानमा रुएका छन्। रेफ्रिले क्याम्प नोउमा भएको दोस्रो लेगको खेल सकिएको जनाउ दिँदै सिटी फुकेपछि मैदानमा नेइमारको आँशु थामिएन्।

उनलाई युभेन्ट्सका खेलाडी डानी आल्भेसले मैदानमा सम्झाएका थिए। आल्भेस ८ वर्ष बार्सिलोनाबाट खेलेर युभेन्ट्स लागेका थिए। त्यसैले बार्सिलोनाका खेलाडीहरुसँग आल्भेसको विशेष सम्बन्ध छ।

युभेन्ट्ससँग गोलरहित बराबरीमा रोकिएपछि बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको थियो। यसअघि टुरिनमा भएको पहिलो लेगको खेलमा बार्सिलोना ३–० ले पराजित भएको थियो। बार्सिलोना क्वाटरफाइनलमा समग्रमा ३–० गोलले पछि पर्दै च्याम्पियन्स लिगबाट बाहिरिएको हो।

नेइमार रुएको घटनालाई विदेशी सञ्चारमाध्यमले विभिन्न अड्कलबाजी लगाएका छन्। बेलायती मिडियाले उनको बार्सिलोनामा यो नै अन्तिम च्याम्पियन्स लिग हुन सक्ने तर्फ संकेत गरेका छन्। नेइमारलाई बार्सिलोनाले यो सिजनको अन्त्यमा बेच्न लागेको खबर धेरै अगाडिदेखि विदेशी मिडियामा आइरहेको छ। त्यसैले उनको रुवाईलाई यसतर्फ जोडेर हेर्न थालिएको छ।

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएपछि उनी दर्शकहरुको अभिवादन स्विकार गर्न जर्सीले आफ्नो अनुहार लुकाएर हिडेका थिए।