गरिब पहिचान नहुँदा तीन सरकारी आवास अलपत्र

चैत २७ , काठमाडौं – छुट्टा–छुट्टै आवास एकाइ (फ्ल्याट) । प्रत्येक एकाइमा एउटा बेडरुम, एउटा भान्छा, शौचालय र बैठक कोठा । साथमा बाल्कोनी पनि ।

सँगै टाँसिएका पाँचतले तीनवटा भवन (अपार्टमेन्ट) । ती भवनमा १ सय २४ आवास एकाइ छन् । एउटा आवास एकाइमा तीन–चारजनाको परिवार सुविधानसम्पन्न हिसाबले मिलेर बस्न सक्छन् । तलतिर एउटा बगैंचा र सामुदायिक हलका साथै गाडी पार्किङ सुविधा पनि छ ।

नागार्जुन नगरपालिका रानीवन इचंगुनारायणमा सहरी गरिब तथा न्यून आय भएका परिवारलाई बस्न बनाइएका अपार्टमेन्ट हुन् यी । बिडम्बना, डेढ वर्षदेखि सहरी विकास मन्त्रालयले निर्माण सम्पन्न गरेको उक्त अपार्टमेन्टमा गरिब तथा न्यून आय भएकाको पहिचान गर्न नसक्दा प्रयोगविहीन भएर बसेको आजको नागरिक दैनिकमा खबर छ ।