राजनीतिक सहमति नजुट्दा आयोग अन्योलमा

चैत २५,काठमाडौं – मधेसी मोर्चासँग राजनीतिक सहमतिमा भइरहेको ढिलाइले तराईका जिल्लासँग सम्बन्धित निर्वाचन तयारीका कतिपय काम अघि बढाउन निर्वाचन आयेगलाई समस्या परेको छ। सहमतिकै पर्खाइमा आयोगले तराईका कतिपय जिल्लासँग सम्बन्धित तयारीका काम रोकेर राखेको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

तराईका जिल्लाहरूको मतपत्र र मतदाता परिचयपत्र छाप्न ढिला भइरहेको छ भने कतिपय जिल्लामा मतदान केन्द्र टुंग्याउनै बाँकी छ। प्रधानमन्त्री पुष्पकमल दाहाललाई चैत १७ मा प्रमुख आयुक्त अयोधिप्रासद यादवसहितका आयोगका पदाधिकारीले भेटेर एक साताभित्र सहमति जुटाउन आग्रह गरेका थिए। ‘वैशाख ३१ मा निर्वाचन गर्नका लागि चैत २५ भित्र सहमति जुटाएर आवश्यक निर्णय दिनुहोस् भनेर आयोगले प्रधानमन्त्रीलाई आग्रह गरेको थियो’, आयोग स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको भनाइले एक साताभित्र सहमति होला भन्ने आशा राखेका थियौं। तर, सहमति गर्न भइरहेको ढिलाइले तराईसँग सम्बन्धित तयारीमा अलमल भएको छ।’
मधेसी मोर्चासँग हुनसक्ने सहमतिअनुसार अघि बढ्नुपर्ने भएकाले आयोगले तराईका जिल्लाका लागि मतपत्र छाप्न थालिसकेको छैन। पहाडका ५५ जिल्लाको मतपत्र छपाइ सकिने क्रममा छ। स्थानीय तहको संख्या थप्नेजस्ता छलफलले पनि आयोग अन्योलमा परेको हो। ‘स्थानीय तहको संख्या थप्ने चर्चा छ। सहमतिपछि दल दर्ताका लागि समय दिनुपर्ने हुन सक्छ’, आयोग स्रोतले भन्यो, ‘ती सबै सम्भावनालाई हेर्दै तराईका मतपत्र छाप्ने कार्यतालिकालाई पछि सारिएको छ। त्यसैका लागि पनि आयोगले सरकारलाई चैत २५ भित्र के सहमति गर्ने हो, त्यो गर्दिनुस् भनेको हो।’ प्रमुख निर्वाचन आयुक्त यादवले सार्वजनिक कार्यक्रममा त्यस्तो कुराको संकेत गरेका छन्।
उनले बिहीबार बेलुकीसम्म सरकारको ठोस निर्णय आउने अपेक्षा राखे पनि कुनै प्रकारको राजनीतिक सहमति भने हुन सकेन।