केन्द्रमा १६ मन्त्रालय रहने, यी हुन् सम्भावित मन्त्रालय

चैत १८,काठमाडौं – केन्द्रमा बढीमा १६ मन्त्रालय राख्न प्रस्ताव गरिएको छ। अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ३१ मन्त्रालय छन्। सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाको संयोजकत्वमा गठित उच्चस्तरीय समितिमातहतको उपसमितिले केन्द्रमा रहने मन्त्रालयको प्रस्ताव गरेको हो। यो खबर हामीले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौ।

मन्त्रालयका प्रशासन सुधार महाशाखा प्रमुख सहसचिव नीता पोखरेलको संयोजकत्वमा उपसमितिले अहिलेका गाभिने मन्त्रालयसहित मातहतका विभागको प्रस्तावित सूचीसमेत तयार गरेको छ।
उपसमितिकी संयोजक पोखरेलले मन्त्रालयको प्रारम्भिक टुंगो लागे पनि विभाग तथा अन्य केन्द्रीय निकायको अन्तिम टुंगो लगाउन बाँकी रहेको बताइन्।
उपसमितिले हाल कायम ६५ विभाग तथा ३७ सार्वजनिक संस्थानमध्ये कुन विभाग र सार्वजनिक संस्थान केन्द्रमा रहने भन्ने प्रारम्भिक प्रस्ताव पनि अन्तिम टुंगो लगाउँदै छ। उपसमितिमा उपसचिवहरू नन्दराज ज्ञवाली, प्रेमलाल लामिछाने, टंकप्रसाद पाण्डे, प्रकाश दाहाल तथा शाखा अधिकृतहरू विशाल ज्ञवाली, लीला काफ्ले, किरण जोशीलगायत सदस्य छन्।
यसरी लाग्नेछ अन्तिम टुंगो
उपसमितिले प्रस्ताव गरेको मन्त्रालयको संख्यामा सचिव नेतृत्वको समितिले थप अध्ययन गर्न सक्छ। उपसमितिको प्रस्ताव सचिव नेतृत्वको समिति हुँदै मुख्यसचिव नेतृत्वको संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचना समन्वय समितिमा पुग्नेछ। समन्वय समितिले प्रतिवेदनलाई अन्तिम रूप दिएर मन्त्रिपरिषद्मा पेस गर्नेछ । सरकारले प्राप्त प्रतिवेदनलाई थप अध्ययनपछि अन्तिम निर्णय गर्नेछ।
प्रस्तावित मन्त्रालय र मातहतका विभाग
१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय :
मातहत रहने निकाय : नेपाल ट्रस्टको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, लगानी बोर्डको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय
२. अर्थ तथा योजना मन्त्रालय :
मातहत रहने निकाय : आन्तरिक राजस्व विभाग, भन्सार, महालेखा नियन्त्रकको कार्यालय, राजस्व अनुसन्धान विभाग, राजस्व प्रशासन तालिम केन्द्र, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राष्ट्रिय योजना आयोग
३. गृह मन्त्रालय :
मातहत रहने निकाय: अध्यागमन विभाग, कारागार व्यवस्था विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रहरी किताबखाना, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय परिचयपत्र व्यवस्था केन्द्र
४. परराष्ट्र मन्त्रालय:
मातहत रहने निकाय : कन्सुलर सेवा विभाग, राहदानी विभाग, अतिथि सत्कार विभाग, राजदूतावास र महावाणिज्य दूतावास
५. रक्षा मन्त्रालय :
मातहत रहने निकाय : नेपाली सेना जंगी अड्डा
६. कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय:
मातहत रहने निकाय : कानुन आयोग, न्यायसेवा तालिम केन्द्र, सर्वोच्च अदालत र अन्य अदालतहरू
७. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय:
गाभिने : उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय
मातहत रहने निकाय : खानी तथा भूगर्भ विभाग, वाणिज्य आपूर्ति, गुणस्तर तथा नापतौल विभाग
८. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय:
मातहतका निकाय : पर्यटन विभाग, पुरातत्व विभाग
९. सूचना तथा सञ्चार एवं विज्ञान तथा प्रविधि मन्त्रालय:
गाभिने मन्त्रालय : सूचना तथा सञ्चार मन्त्रालयमा विज्ञान तथा प्रविधि मन्त्रालय मर्ज हुने
मातहत रहने निकाय : प्रमाणीकरण नियन्त्रणको कार्यालय, मुद्रण विभाग, राष्ट्रिय सूचना आयोग, सूचना तथा प्रविधि विभाग, हुलाक सेवा विभाग
१०. जलस्रोत तथा ऊर्जा मन्त्रालय :
गाभिने : ऊर्जा मन्त्रालय र सिँचाइ मन्त्रालय मर्ज हुने
मातहत रहने निकाय : जल तथा ऊर्जा आयोग, विद्युत् विकास विभाग, सिँचाइ विभाग
११. स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्रालय :
गाभिने : स्वास्थ्य मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय मर्ज हुने
मातहतका निकाय : औषधि व्यवस्था विभाग, अस्पताल चिकित्सालय प्रयोगशाला, आयुर्वेद विभाग, स्वास्थ्य सेवा विभाग
१२. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय :
गाभिने : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय मर्ज हुने
मातहत निकायहरू : सडक तथा रेल विभाग, यान्त्रिक प्रयोगशाला, नागरिक उड्डयनसम्बन्धी कार्यहरू
१३. कृषि सहकारी तथा भूमि व्यवस्थापन मन्त्रालय :
गाभिने : कृषि विकास मन्त्रालय, पशुपक्षी विकास मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमिसुधार तथा व्यवस्था मन्त्रालय मर्ज हुने
मातहत रहने निकायहरू : कृषि विभाग, नापी तथा भूव्यवस्थापन विभाग
१४. वन भूसंरक्षण तथा वातावरण मन्त्रालय :
गाभिने : वन तथा भूसंरक्षण मन्त्रालय र वातावरण मन्त्रालय मर्ज हुने
मातहतका निकायहरू : वन व्यवस्थापन विभाग, वातावरण तथा मौसम विज्ञान विभाग
१५. संघीय मामिला तथा समावेशी मन्त्रालय:
गाभिने : संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय मर्ज हुने
मातहत रहने निकायहरू : केन्द्रीय पञ्जीकरण विभाग, महिला तथा बालबालिका विभाग
१६. शिक्षा तथा मानव संसाधन मन्त्रालय :
गाभिने : शिक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय श्रम तथा रोजगार मन्त्रालय र सामान्य प्रशासन मन्त्रालय मर्ज हुने मातहत रहने निकायहरू : परीक्षा नियन्त्रण कार्यालय, पाठ्यक्रम विकास केन्द्र शैक्षिक जनशक्ति विकास केन्द्र, राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय युवा परिषद्, श्रम तथा वैदेशिक रोजगार विभाग