क्षयरोगीको संख्या बढ्दै

 

काठमाडौं —  विरामीहरुको संख्या दिनप्रति दिन बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ । स्वास्थ्य मन्त्रालयको राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोग दिवसका सन्दर्भमा बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फन सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

केन्द्रको तथ्यांकअनुसार राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७२÷०७३ मा ३२ हजार ३ सय ७९ जना क्षयरोगका विरामी उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । जसमध्ये २३ हजार ५ सय २७ जना (७२ प्रतिशत) फोक्सोमा हुने क्षयरोगका विरामी रहेका छन् । यस्तै ८ हजार ८ सय ५२ (२८ प्रतिशत) फोक्सो बाहिर हुने क्षयरोगका विरामी रहेको तथ्यांक छ ।

क्षयरोगीमध्ये १ हजार ७ सय ६९ जना बालबालिका रहेका छन् । पुरुषको तुलनामा महिलामा क्षयरोग लाग्ने दर कम देखिएको चिकित्सकहरुको भनाइ छ । गतवर्ष क्षयरोगी महिलाको संख्या ११ हजार ६ सय ६० जना महिला रहेका थिए भने यसवर्ष यो संख्यामा केही कमी आएको तथ्यांकले देखाएको छ ।  नेपालमा दैनिक सरदर १२ जनाको क्षयरोगका कारण मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ ।

क्षयरोग केन्दका निर्देशक डा. सरदचन्द्र वर्माले क्षयरोगबाट अकालमा हुने मुत्यु दर न्यूनीकरणका लागि राज्यलगायत सबैको ध्यान जान जरुरी रहेको बताए । उनले समयमै रोगको पहिचान गरी उपचार गराएमा ८५ प्रतिशत क्षयरोग सजिलै निको हुने बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वर्षेनी ४३ हजार भन्दा बढीलाई  क्षयरोगको संक्रमण देखिने गरेको पाइन्छ । केन्द्रले वर्षेनी ९ हजार क्षयरोगीलाई उपचारको पहुँचमा पु¥याउन नसकेको जनाएको छ । संगठनले सन् २०५० सम्म क्षयरोग मुक्त संसार बनाउने उद्देश्य राखेको छ । संगठनले यसका लागि क्षयरोगसम्बन्धी ५ वर्षे रणनीति २०१६–२१ तयार पारिसकेको जनाएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले ग्रामिण भेगका व्यक्तिहरु बढीमात्रामा यस रोगको संक्रमणमा रहेको बताए । उनले यस विषयमा गाउँस्तरमा सचेतनामुलक कार्यक्रम लैजानु पर्नेमा जोड दिए । उनले क्षयरोग न्यूनिकरणका लागि ग्रामिण भेगमा निःशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउनु पर्ने बताए । उनले स्वस्थ देखिने मानिसमा पनि क्षयरोगका किटाउनु हुन सक्ने भएकाले यस विषयमा राज्य गम्भीर भएर लाग्नुपर्ने धारणा व्यक्त गरे । उनले नेपालका कुनाकाप्चामा अझै पनि ९ हजारभन्दा बढी बिरामीहरु सम्पर्क बाहिर रहेको बताए ।

देशभर छरिएर रहेका ५ सय ९६ माइक्रोस्कोपी सेन्टरबाट क्षयरोग निदान सेवा चलाइरहेकाले पनि यसलाई सजिलै पूर्ण रुपमा निर्मुल पार्न सकिने केन्द्रका छातिरोग विशेषज्ञ डा. मोहन प्रसाइले बताए । देशका विभिन्न २९ वटा क्षयरोग उपचार केन्द्रमा जीन एक्सपर्ट सेवा सञ्चालन भइरहेको समेत उनले जानकारी दिए ।

क्षयरोगीले २० देखि ३० महिनासम्म नियमित औषधि सेवन गर्नुपर्ने भएपनि अहिले भने संगठनले ९ देखि १२ महिनामात्र नियमित औषधि सेवन गरे निको हुने खालको औषधी ल्याएको छ । क्षयरोगको औषधि बढी महँगो भएकाले पनि यस रोगलाई हालसम्म न्युनिकरण समेत गर्न नसकिरहेको चिकित्सकको भनाइ छ ।

केन्द्रमा गतवर्ष मात्रै ३ सय ५२ जना क्षयरोगका नयाँ बिरामी थपिएको तथ्यांक छ । चिकित्सकका अनुसार क्षयरोगीलाई उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीहरुलाई नै यसको किटाणु सर्ने भएकाले समेत क्षयरोग निकै चुनौतिपूर्ण बन्दै गएको बताइन्छ ।

साभार—हिमालय टाइम्स