नेपाल दक्षिण एसियाको तेस्रो खुसी राष्ट्र

चैत ८, काठमाडौं- नेपाल दक्षिण एसियाकै तेस्रो खुसी राष्ट्रमा परेको छ। संयुक्त राष्ट्रसंघसँग आबद्ध ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले सार्वजनिक गरेको ‘सन् २०१७ को वल्र्ड ह्याप्पिनेस’ प्रतिवेदनमा नेपालले ४ दशमलव ९६ अंक प्राप्त गरेको छ। विश्वको खुसी राष्ट्रका सूचीमा नेपाल ९९औँ सूचीमा छ। गत वर्ष भने नेपाल विश्वको १०७औँ खुसी राष्ट्रमा थियो। यस वर्ष नेपालले आठ स्थान सुधार गरेको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

नर्वे संसारकै खुसी राष्ट्र
वल्र्ड ह्याप्पिनेस संस्थाको प्रतिवेदनमा युरोपेली राष्ट्र नर्वे संसारको सबैभन्दा खुसी राष्ट्रको सूचीमा परेको छ। गत वर्ष डेनमार्क पहिलो स्थानमा रहँदा नर्वे चौथो स्थानमा थियो। डेनमार्क यस वर्ष दोस्रो स्थानमा झरेको छ। संसारको सबैभन्दा खुसी हुने राष्ट्रको पहिलो ६ स्थानसम्म युरोपेली देश नै छन्। तेस्रो स्थानमा आइसल्यान्ड, चौथोमा स्विट्जरल्यान्ड, पाँचौँमा फिनल्यान्ड तथा छैटौँमा नेदरल्यान्ड छन्।
दक्षिण एसियामा पाकिस्तान पहिलो
आतंकवादको चपेटामा रहेको पाकिस्तान दक्षिण एसियाकै सबैभन्दा खुसी राष्ट्रमा परेको छ। समग्र विश्वमा भने पाकिस्तान ८०औँ स्थानमा छ। पाकिस्तानले ५.२६ अंक पाएको छ। दक्षिण एसियाको दोस्रो खुसी राष्ट्रमा भुटान रहेको छ। भुटानले ५.०१ अंक पाएको छ। बंगलादेश ४.४६ अंकसहित चौथो र ४.४४ अंकसहित श्रीलंका पाँचौँ खुसी राष्ट्रमा परेका छन्।
दक्षिण एसियाकै ठूलो तथा विकसित भारत भने छैटौँ खुसी राष्ट्रमा रहेको छ। भारतले ४.३१ अंक पाएको छ। अफगानिस्तान ३.७९ अंकसहित सातौँ खुसी राष्ट्रमा रहेको ग्लोबल साइन्टिफिक स्टडिज संस्थानको प्रतिवेदनमा उल्लेख छ।
अमेरिका १४औँ राष्ट्र
विश्वकै सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिका खुसी राष्ट्रको शीर्ष दश स्थानमा समावेश छैन। अमेरिका चौधौँ स्थानमा छ। अमेरिका गत वर्षभन्दा एक स्थान तल झरेको प्रतिवेदनमा उल्लेख छ। अमेरिकाले यसपटक ६.९९ अंक पाएको छ। चीन भने ६.६५ सहित २०औँ खुसी राष्ट्रको सूचीमा छ।
दुःखीमध्येको पहिलो खुसी राष्ट्रमा हैटी
ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले १४५औँदेखि १५४औँ स्थानसम्मकालाई विश्वकै दुःखी राष्ट्र मानेको छ। सबैभन्दा दुःखी राष्ट्रमध्येको पहिलो खुसी राष्ट्रमा ३.६३ अंकसहित हैटी छ। दुःखी राष्ट्रको पनि सबैभन्दा दुःखी राष्ट्रमा २.९० अंकसहित बुरुन्डी रहेको छ।
सबैभन्दा खुसी राष्ट्र स्थान राष्ट्र अंक
१. नर्वे ७.५३
२. डेनमार्क ७.५२
३. आइसल्यान्ड ७.५०
४. स्विट्जरल्यान्ड ७.४९
५. फिनल्यान्ड ७.४६
६. नेदरल्यान्ड ७.३७
७. क्यानडा ७.३१
८. न्युजिल्यान्ड ७.३७
९. अस्ट्रेलिया ७.३१
१०. स्विडेन ७.२८

दुःखी १० राष्ट्र
स्थान विश्वमा स्थान राष्ट्र अंक
१. १४५ हैटी ३.६३
२. १४६ यमन ३.५९
३. १४७ दक्षिण सुडान ३.५९
४ .१४८ लिबेरिया ३.५३
५. १४९ गुएना ३.५०
६. १५० टोगो ३.४९
७. १५१ रुवान्डा ३.४७
८. १५२ सिरिया ३.४६
९. १५३ तान्जानिया ३.३४
१०. १५४ बरुन्डी २.९०