संविधान संशोधन पारित गर्न काँग्रेसभित्र दबाब

चैत ४, काठमाडौँ । तराई मधेसबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद तथा केन्द्रिय सदस्यहरुले संबिधान संशोधन प्रस्ताव पारित गराउन पार्टीभित्र दबाब दिने भएका छन् । सिंहदरबारमा आज बिहान बसेको बैठकले निर्वाचन अघि नै व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गर्ने प्रक्रिया अघि बढाउन दबाब दिने निर्णय गरेको हो । कांग्रेसको यही १० गते बस्ने केन्दीय समितिको बैठकबाट संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गर्नका लागि दबाब दिने निश्कर्षमा पुगेको बैठकमा सहभागी सांसद रामकृष्ण यादवले जानकारी दिनुभयो ।
बैठकमा बोल्ने अधिकांश वक्ताहरुले काँग्रेस मुलुकको जिम्मेवार पार्टी भएको र मुलुकको जटिल समस्या समाधानमा काँग्रेसले नै अग्रसरता लिनुपर्नेमा जोड दिएका थिए । बैठकमा नेताहरु डा शेखर कोइराला, डा मीनेन्द्र रिजाल, फरमुल्ला मन्सुर, तारिणीदत्त चटौत, अमरेशकुमार सिंह, सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी, भरत साहलगायत केन्द्रीय सदस्य र सांसदको उपस्थिति थियो ।