अब सांसद्लाई पनि चाहियो ‘पूर्वपदाधिकारी सुविधा’

चैत ४,काठमाडौं – सांसद आफैंले पूर्वपदाधिकारीको सुविधा माग गरेका छन्। पूर्वपदाधिकारीको कोटामा सांसदहरूलाई पनि राख्नुपर्ने भन्दै पाँच सांसदले पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्नेसम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका हुन्। यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।

कांग्रेसका चार र फोरम लोकतान्त्रिकका एक सांसदले पूर्वसांसदलाई यातायात, औषधि उपचार र अन्य सुविधा माग गरेका छन्। सरकारले पूर्वपदाधिकारीको कोटामा राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रिपरिषद्का अध्यक्ष, सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभाका अध्यक्षलाई राखेर विधेयक ल्याएको थियो।
सांसदहरूले एक पटक प्रतिनिधिसभा, राष्ट्रियसभा, संविधानसभा वा संघीय संसद् सदस्य भइसकेकाहरूको मर्यादाक्रम निर्धारण गर्न र उनीहरूलाई औषधि उपचार तथा अन्य सुविधा उपलब्ध गराउन भन्दै संशोधन दर्ता गराएका हुन्। संशोधन प्रस्ताव राख्नेहरूमा कांग्रेसका सांसदहरू तप्तबहादुर बिष्ट, सञ्जय गौतम, राजीवविक्रम शाह र नरबहादुर चन्द छन्।
उनीहरूले छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएका छन् भने फोरम लोकतान्त्रिककी कल्पना चौधरीले पनि यही व्यहोरामा छुट्टै संशोधन दर्ता गराएकी छिन्। यसैगरी माओवादी केन्द्रका मनोनित सांसद जनकराज जोशीले पूर्वपदाधिकारीलाई दिइने भनिएको आवास, सवारी साधन तथा इन्धन, निजी सचिवालय र कर्मचारीजस्ता सुविधा दिइसकेपछि मासिक वृत्ति आवश्यक नहुने धारणा राखेका छन्।