वैशाखदेखि मिर्गौला प्रत्यारोपण निःशुल्क

फागुन २७,काठमाडौ- सरकारले स्वास्थ मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने तयारी गरेको छ । मन्त्रालयले आगामी वैशाख १ बाट स्वास्थ्य कर कोषको रकम प्रत्यारोपण खर्च गर्ने गरी निःशुल्क मिर्गौला प्रत्यारोपणको शुरूवात गर्न लागेको हो ।
जिन्दगीभर डाइलासिस गराउनुभन्दा दुई वर्षको डायलासिस खर्चले प्रत्यारोपण सम्भव भएपछि मन्त्रालयले निःशुल्क मिर्गौला प्रत्यारोपणका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो ।

स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्य कर कोषमा जम्मा भएको रकमले निःशुल्क मिर्गौला प्रत्यारोपणको तयारी गरेको जानकारी दिए । थापाले २५ करोड रुपैयाँ अर्थबाट स्वास्थ्य मन्त्रालयमा जम्मा भइसकेको जानकारी दिँदै अब ५० करोड रुपियाँ जम्मा हुन बाँकी रहेको बताए । सरकारी अस्पतालबाट मात्रै निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न लागेको जानकारी दिँदै मन्त्री थापाले डायलासिसभन्दा प्रत्यारोपणमा खर्च कम लाग्ने बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सरकारले डायलासिसका लागि एक पटकमा तीन हजार रुपियाँ व्यहोर्दै आएको छ । बिरामीले हप्तामा दुईदेखि चार पटकसम्म डायलासिस गर्नुपर्ने हुन्छ । डायलासिसमा कम्तिमा हप्ताको दुई पटकका दरले मात्र हिसाब गर्ने हो भने पनि मासिक २५ देखि ३० हजार रुपियाँ लाग्छ । हाल सरकारले एकजना मिर्गौला फेल भएको बिरामीलाई कम्तीमा पनि वार्षिक तीन लाख रुपियाँभन्दा बढी खर्च गरिरहेको छ । हाल सरकार अन्तर्गत रहेका मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर, त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालबाट मिर्गौलाको प्रत्यारोपण हुँदै आएको छ ।