हेपाटाइटिस ‘सी’को निःशुल्क उपचार

काठमाडौं– स्वास्थ्य मन्त्रालयले हेपाटाइटिस ‘सी’को उपचार निःशुल्क गरेको छ। कुनै समय निको नहुने रोगका रुपमा लिइने हेपाटाइटिस सीको उपचार हुन सके रोग पूरै निको हुने सम्भावना रहन्छ। आर्थिक अभावले कैयौं बिरामीले समयमै उपचार नपाउँदा हेपाटाइटिस बिग्रिएर कलेजो कडा हुने, क्यान्सर हुनेलगायत समस्याले धेरैले ज्यान गुमाउने गरेका छन्। जसका कारण मन्त्रालयले उपचार सबैको पहुँचमा पुर्याछउँन निःशुल्क गर्ने निर्णय गरिएको स्वास्थ्य मन्त्री गगन थापाले बताएका छन्। उनले बिहीबार ट्विट मार्फत् उपचार निःशुल्क भएको जानकारी दिएका हुन्।

वीर अस्पतालका कलेजो तथ पेटरोग विशेषज्ञ डा. विधाननिधि पौडेलका अनुसार रगतका माध्यायमबाट सर्ने हेपाटाइटिस सी लागूऔषधका दुर्व्यसनी र नशाबाट औषधि लिने बिरामीहरुमा बढी देखिन्छ।

हेपाटाइटिस सी ग्रस्त व्यक्तिको रगत अरुलाई दिँदा, धेरैजनासँग शारीरिक सम्बन्ध राख्दा, सिरिन्जको माध्यमबाट जथाभावी रगत लिनेदिने गर्दा, शरीरमा टाटु खोपाउँदा, अर्काको दाह्री काट्ने रेजर उपयोग गर्दा पनि यो रोग सर्ने सम्भावना हुन्छ। हेपाटाइटिस सीबाट संक्रमित आमाबाट सन्तानमा रोग सर्ने सम्भावना भने न्यून अर्थात् ५ देखि ८ प्रतिशत मात्र हुन्छ।

यसको समयमै उपचार नभए लिभर सिरोसिस र क्यान्सरसम्म हुने गर्छ। तीन महिना नियमित औषधि–उपचार गराउँदा रोग पूरै निको हुने सम्भावना ९० प्रतिशतभन्दा बढी हुने डा. पौडेले बताउँछन्।

भाइरसका कारण लाग्ने यो रोगले मानिसलाई केही हप्ता बिरामी पार्नुका साथै उपचार नभए जीवनभरि कलेजोको समस्या वा क्यान्सरसम्म हुन सक्ने डा। पौडेलको भनाइ छ। यसको भाइरस कलेजोमा लाग्ने सबैभन्दा ‘कमन’ भाइरस हो।

विश्वमा प्रत्येक वर्ष करिब १५ करोड मानिसलाई हेपाटाइटिस सीले आक्रान्त पार्ने र करिब तीन लाख ५० हजार मानिसले ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओए)ले जनाएको छ।

डा.पौडेलका अनुसार यो रोगको लक्षण सुरुमा देखिँदैन। अलिक सिकिस्त पारेपछि भने ज्वरो आउने, थकाइ लाग्ने, खानामा रूचि घट्ने, झाडापखाला चल्ने, छाला र आँखा पहेँलो हुने जस्ता लक्षण देखा पर्छन्। नेपालमा एक लाखदेखि २ लाखको हाराहारीमा यसका बिरामीहरु रहेको अनुमान छ।

हेपाटाइटिस सीबाट बच्न जथाभावि फालिएका ‘सुइ’हरू नचलाउने, लागूऔषधको कुलत छाड्ने, सुइहरु प्रयोग गर्दा एकभन्दा बढी व्यक्तिले एउटै प्रयोग नगर्ने, हेपटाइटिस ‘सी’ भएकासँग असुरक्षित यौन सम्पर्क नगर्ने जस्ता उपाय अपनाउनुपर्ने हुन्छ।