सकियो रणजीत रायको कर्यकाल, अब विनय कुमारले सम्हाल्ने भारतीय दूतावास

 

 
१७ फागुन, काठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजीत रायको कार्यकाल मंगलबारदेखि समाप्त भएको छ । उनले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग विदाइ भेट गरेका छन् ।
राजदूत रायका ठाउँमा अब डेपुटी चीफ अफ मिसन ९डीसीएम० विनय कुमारले कार्यवाहक राजदूतको जिम्मेवारी निर्वाह गर्ने छन् ।
संविधान निर्माण हुनुअघि नेपालको राजदूतको जिम्मेवारी सम्हालेका रणजीत रायको कार्यकालमा नेपाल भारत सम्बन्धमा निकै ठूला उतार चढावहरु देखा परे । राजदूत राय चर्चा एवं विवादको शिखरमा रहे । विशेष गरी संविधान जारी हुने बेलामा भारतले खेलेको भूमिका, त्यसपछिको नाकाबन्दी, मधेसी मोर्चाप्रतिको झकाव र पछिल्लो समय स्थानीय चुनावको घोषणा पश्चात पनि भारतले त्यसको समर्थनमा वक्तव्य नदिएको लगायतका विषयहरु रायको कार्यकालका परिघटना हुन् ।

अर्कोतर्फ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, माथिल्लो कर्णाली, अरुण तेस्रो लगायतका आयोजनाको पीडीए लगायतका विषयहरुलाई रायका पालामा भएका उपलब्धिका रुपमा भारतीय पक्षले व्याख्या गरेको छ । यद्यपि यी विषयहरुमा नेपालभित्र एक मत हुन सकेको छैन ।
भारतीय दूतावास स्रोतका अनुसार अब नेपालले नयाँ भारतीय राजदूत पाउन अझै एक महिना लाग्न सक्छ । यो अवधिमा डीसीएम विनयकुमारले कार्यबाहकको काम गर्ने छन् । नयाँ भारतीय राजदूत को बन्दैछ भन्ने अझै टुंगो लागेको छैन । राजदूतका रुपमा प्रिती शरण र दलबीर सिंहको नामसमेत चर्चामा छ ।
४८ वर्षीय विनय सन् १९९२ देखि भारतीय विदेश सेवामा प्रवेश गरेका हुन् । राजदूत रायले अर्थशास्त्रको अध्ययन गरेर विदेश मन्त्रालयको सेवामा प्रवेश गरेका थिए भने विनयले टेक्निकल विषय पढेका छन् ।
विनयकुमारले आफ्नो विदेश मन्त्रालयको जागिरका काममा काठमाडौं आउनुपूर्व तासकन्द, ओटावा, तेहरान लगायतका स्थानमा भारतीय मिसनमा काम गरिसकेका छन् । सन् २०१५ मा नेपाल आउनुपूर्व उनी अफ्रिकामा कार्यरत थिए ।