निर्वाचनका लागि २५ हजार मतपेटिका अभाव

 

फागुन १४,काठमाडौं – स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले थप २५ हजार मतपेटिका जुटाउनुपर्ने भएको छ। आयोगसँग अहिले झन्डै ७० हजार मात्रै मतपेटिका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
३१ वैशाखका लागि तय गरिएको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोगलाई देशभरमा रहने २१ हजार बुथका लागि झन्डै ८५ हजार मतपेटिका आवश्यक पर्छ। आयोगसँग भएका करिब सात हजार मतपेटिका बिग्रिएका छन्। त्यसैले नयाँ र अपुग मतपेटिका जुटाउन आयोगलाई हम्मे पर्ने देखिएको छ।
आयोगका अनुुसार हरेक जिल्लामा १५ वैशाखसम्म मतपेटिका अनिवार्य रूपमा पु¥याउनुपर्छ, तर त्यसका लागि समय निकै कम छ। यसअघिका निर्वाचनमा नेपालले जापानबाट मतपेटिका ल्याउँदै आएको थियो। यसपटक भने जापानले निर्वाचनको समय अवधि निकै कम भएकाले मतपेटिका दिन नसकिने स्पष्ट पारेपछि आयोगलाई समस्या भएको हो।
आयोगका सचिव गोपीनाथ मैनालीले मतपेटिका जुटाउन आयोगलाई कठिन हुने देखिएको बताए। ‘२५ हजार मतपेटिका समयमा नै नेपाल ल्याउने गृहकार्यमा गम्भीरतापूर्वक जुटेका छौँ, तर यो काम निकै कठिन र चुनौतीपूर्ण देखिएको छ,’ मैनालीले नयाँ पत्रिकासँग भने।
ठूलो संख्यामा मतपेटिका अभाव हुन सक्ने भएकाले आयोगका पदाधिकारीले केही दिनअघि मात्रै जापानी राजदूतलाई आयोगमा नै बोलाएर मतपेटिका उपलब्ध गराउन आवश्यक पहल गर्न आग्रह गरेका थिए। तर, राजदूतले समय निकै कम भएकाले उपलब्ध गराउन कठिन हुने बताएका थिए।
‘जापानबाट ल्याउन कठिन हुने देखिएपछि अब भारत तथा अन्य कुन देशबाट ल्याउन सकिन्छ भन्नेबारेमा छलफल थालेका छौँ,’ सचिव मैनालीले भने। उनका अनुसार भारतबाट ल्याउन पनि समस्या छ। भारतले आफ्नो देशमा हुने निर्वाचनमा प्रायः इभिएम (इलेक्ट्रोनिक भोटिङ मेसिन)कै प्रयोग गर्ने भएकाले त्यहाँ मतपेटिकाको चलन नै हराएको छ। ‘अन्य कुन देशमा पाइन्छ र कसरी चाँडैभन्दा चाँडै ल्याउन सकिन्छ भन्नेमा हामीले सोधखोज थालेका छौँ, तर समस्या जटिल नै देखिएको छ,’ उनले भने।