संशोधन पारित नभए मानिन्न : मोर्चा

फागुन १२,काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूले भनेअनुसार नै परिमार्जनसहित संविधान संशोधन विधेयक पारित नभए स्वीकार नगर्ने घोषणा गरेको छ । मोर्चाले जसरी पनि परिमार्जनसहित संविधान संशोधन हुनैपर्ने अडान राखेको हो । यो खबर हामीले आजको राजधानीबाट लिएका हौ।

संशोधन विधेयक परिमार्जनसहित पारित नभएसम्म तराई–मधेसमा कुनै पनि निर्वाचन हुन नदिने घोषणा पनि मोर्चाले गरेको छ । प्रमुख प्रतिपक्षी एमालेसहितका नौ दलीय विपक्षी गठबन्धनले संसद्बाट जे परिणाम आए पनि स्वीकार गर्ने तर सो परिणामलाई सत्तारूढ गठबन्धनमा आबद्ध मधेसी मोर्चाले पनि स्वीकार गर्ने प्रतिबद्धता जनाए मात्रै संशोधन अघि बढ्ने बटमलाइन सुनाएको छ ।
विपक्षीको सो अडानपछि मधेसी मोर्चाका नेताले संशोधन विधेयक जसरी पनि पारित हुनैपर्ने अन्यथा स्वीकार नगर्ने घोषणा गरेको हो । एमाले नेतृत्वको विपक्षी गठबन्धनले विपक्षमा मतदान गर्दा संशोधन विधेयक पारित हुन सक्दैन । सोही कारण मोर्चाले संशोधन पास हुनैपर्ने बताएको हो । उसको दाबीलाई विपक्षी गठबन्धनले ठाडै अस्वीकार गरिसकेको छ । संशोधनमा दुई तिहाइ नपुग्ने निश्चित भएपछि मोर्चाले पारित हुनुपर्ने सर्त राखेको हो । मधेसी मोर्चाका नेता एवं सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले संशोधन विधेयक संसद्बाट फेल भए स्वीकार गर्दै निर्वाचनमा सहभागी हुन नसकिने प्रस्ट पारे । मधेसी, आदिवासी, जनजाति, थारूलगायतका अधिकार संविधान संशोधन गरेर सुनिश्चित नभएसम्म आन्दोलन अझै कडा स्वरूपमा जारी रहने चेतावनी दिए । ‘मधेस आन्दोलन संविधान संशोधन विधेयक प्रक्रियामा लैजानका लागि भएको होइन, संशोधन गरेर अधिकार लिनका लागि भएको हो, दर्जनांै आन्दोलनकारीले अधिकारका लागि ज्यान गुमाएका हुन्,’ महतोले राजधानीसँग भने, ‘मधेस आन्दोलन जुन अधिकारका लागि भएको हो, त्यो अधिकार संविधान संशोधन गरेर सुनिश्चित नभएसम्म कुनै कुरा स्विकार्न सकिँदैन ।’ मधेसी मोर्चाले संविधान संशोधन परिमार्जनसहित पारित गरेर निर्वाचनमा सहभागि हुन चाहेको बताउँदै उनले संशोधन पारित गर्न सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने बताए ।
संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले संविधान संशोधन विधेयक परिमार्जनसहित पारित नभएसम्म आन्दोलन जारी रहने बताए ।