प्रसूति गृहमा टिकट काट्न लाइन लाग्नु नपर्ने

 

 

काठमाडौँ परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा नियमित गर्भ जाँच गराइरहेकी गैरीधाराकी २१ वर्षीया सुनिता केसी  बुधबार चकित परिन् । जहिल्यै लाइनमा ठेलमठेल गरेर टिकट काटेरहेकी उनले पहिलोपल्ट लाइनमा उभिएर सास्ति भोग्नु परेन  । टोकन लिएपछि बेञ्चमा बसेर आफ्नो पालो कुरिरहेकी थिइन् ।

मंगलबारदेखि अस्पताल प्रशासनले टिकट र पैसा बुझाउनका लागि ‘इलेक्ट्रिक टोकन सिस्टम’ सुरु गरेपछि घण्टौँ लाइनमा उभिनुपर्ने झन्झटबाट केसीजस्ता धेरैले मुक्ति पाएका छन्। इलेक्ट्रिक टोकन सिस्टमबारे जानकारी नभएकाहरु भने टोकन नलिई लाइनमा उभिरहेका देखिन्थे ।

अस्पतालकी कम्प्युटर अपरेटर निलिमा भण्डारीले भनिन्, ‘टोकन लिएर आउनुहोस् भनेर बुझाउँदा–बुझाउँदा हैरान भइसकियो । धेरैको बिना टोकन टिकट काट्न बाध्य भएकी छु ।’ भण्डारीका अनुसार यसअघि लाइनमा बसेर टिकट काट्न बानी परेका धेरैलाई टोकन माग्दा अलमलिएका थिए ।

अस्पतालमा उपचारका लागि आउनेले अब बिहान ७ बजेदेखि नै टोकन लिएर आप्mनो पालो सुरक्षित गर्न सक्नेछन्। टोकन लिएपछि टिकट काट्ने पालो पर्खिनका लागि अस्पताल प्रशासनले बस्ने सिटको व्यवस्थासमेत गरेको छ। आफ्नो टोकन लिएर पालो आउने अनुमान गर्दै बिरामी वा आफन्त बाहिरफेर निस्कन पनि सक्छन्। टिकट काट्न र पैसा तिर्नका लागि एकै ठाउँमा भिड नहोस् भनेर अस्पतालले छुट्टै कुपनको व्यवस्था समेत गरेको छ।

‘गर्भवती महिलाहरुलाई लामो समय लाइनमा उभिने समस्याबाट छुटकारा मिलेको छ,’ अस्पतालका निर्देशक अमिरबाबु श्रेष्ठले भने, ‘बिरामीको सेवालाई अझ सहज र सजिलो बनाउन आगामी दिनमा सुविधा थप गर्दै लैजाने योजना छ।’ अस्पतालका गतिविधि निरीक्षण गर्न विभिन्न ठाउँमा ३० वटा सिसी क्यामरासमेत जडान गरिएको श्रेष्ठले जानकारी दिए।

टोकन प्रणाली नहुँदा प्रसूति अस्पतालमा एक जना बिरामीले आफ्नो पालो कुर्न दुई घण्टासम्म लाइनमा बस्नुपर्ने वाध्यता थियो । दैनिक पाँच सयको हाराहारीमा बिरामी उपचारका लागि आउने हुनाले टोकन सिस्टम नहुँदा लाइन धेरै अव्यवस्थित र झन्झटिलो हुने गरेको थियो । करिब चार सय जना स्त्री रोग र गर्भावस्था जाँचका लागि र ९० देखि सय जना इर्मेजेन्सीमा सेवाका लागि आउने गरेको अस्पतालका निर्देशक डा श्रेष्ठले बताए ।

निमित्त निर्देशक डा अमिरबाबु श्रेष्ठ

स्वास्थ्य मन्त्री गगन थापाले सबै सरकारी अस्पतालमा टोकन प्रणाली लागू गर्न निर्देशन दिएका छन् । उनको निर्देशन अनुसार वीर, सिभिल, शिक्षण अस्पताल र कान्ती बाल अस्पतालले पनि टोकन प्रणाली सुरु गरिसकेका छन् ।