दाउपेचमा अल्झियो प्राधिकरण

फागुन ३,काठमाडाैं -राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सत्तापक्ष र प्रमुख प्रतिपक्षको राजनीतिक दाउपेचमा अल्झिन थालेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट सुशील ज्ञवालीलाई हटाएको विषयमा प्रमुख प्रतिपक्षी दलले प्राधिकरण निर्देशक समितिको बैठकमा सोमबार गम्भीर आपत्ति जनाएपछि सत्तापक्ष र प्रतिपक्षबीच करिब दुई घण्टा आरोप–प्रत्यारोप चल्यो ।
ज्ञवालीले आफूलाई पदबहाली गर्न सर्वोच्च अदालतमा दिएको रिट निवेदनमाथि मंगलबार सुनुवाइ हुनु अघिल्लो दिन सिंहदरबारमा बसेको निर्देशक समितिको बैठकमा समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र उपाध्यक्ष तोकिएका एमाले उपाध्यक्ष भीम रावलबीच भनाभन चलेको हो । समितिका उपाध्यक्ष रावलले ज्ञवालीलाई हटाउनुको कारण र उनलाई हटाएपछि प्राप्त भएका उपलब्धिको विवरण मागेपछि प्रधानमन्त्री दाहाल अप्ठेरोमा परेका थिए ।
सर्वोच्च अदालतले ज्ञवालीलाई पुनर्बहाली गरिदिनसक्ने संकेत प्राधिकरणमा पुगेका छन् । नयाँ उत्साहसाथ प्राधिकरणको जिम्मेवारी सम्हाल्न पुगेका डा. गोविन्द पोखरेलले पनि अदालतले नसोचेको फैसला सुनाउनसक्ने संकेत पाएका छन् ।