१३ राजदूत नियुक्ति तयारी, कांग्रेसको सूची यस्तो छ

माघ २६, काठमाडौं – सरकारले रिक्त रहेका १३ देशका लागि राजदूत नियुक्तिको तयारी गरेको छ। आगामी मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिको निर्णय गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीको निजी सचिवालय स्रोत भन्छ, ‘सरकारमा सहभागी सबै दलका तर्फबाट प्रधामन्त्रीले नाम चाँडै पठाउनुस् भन्नुभएको छ, आगामी बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट सरकारले सबै रिक्त रहेका मुलुकका लागि राजदूत सिफारिस गर्छ।’ यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।
राजदूत नियुक्ति हुन बाँकी १३ देशमा नियुक्तिका लागि सत्तारूढ दलबीच भागबन्डा भएको छ। कांग्रेसको भागमा ६, माओवादी केन्द्रको भागमा चार र राप्रपाको भागमा तीनजना परेको स्रोतको भनाइ छ। यसैबीच, प्रमुख सत्तारूढ दल कांग्रेसले आफ्नो कोटामा परेका देशको राजदूत नियुक्तिका लागि सातजनाको नाम तयार गरेको छ। सरकारले लामो समयदेखि रिक्त रहेका मुलुकमा राजदूत नियुक्ति गर्ने तयारी गरेपछि कांग्रेसले आफ्ना तर्फबाट राजदूतका लागि सम्भावित सातजनाको नाम तयार गरेको हो।
सरकारले बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट राजदूत नियुक्तिको सिफारिस गर्ने भएपछि कांग्रेसले आफ्ना तर्फबाट भागबन्डामा पर्ने सम्भावित संख्याका आधारमा नाम तयार गरेको हो। तर, कांग्रेसले कोको परे भन्ने विषयमा आधिकारिक रूपमा नाम भने आज (बुधबार) तय गर्ने सभापति शेरबहादुर देउवानिकट एक नेताले जानकारी दिए।
स्रोतका अनुसार कांग्रेसले दिव्यमणि राजभण्डारी, विश्वम्भर प्याकुरेल, भीम उदास, कृष्ण ज्ञवाली, जगदीशचन्द्र पोखरेल, दिनेश भट्टराई र यज्ञ अधिकारीलाई राजदूत बनाउने तयारी गरेको छ। तर, पहिलेदेखि नै चर्चामा रहेका त्रिवि पूर्वउपकुलपति नवीनप्रकाशजंग शाह, तत्कालीन राष्ट्रपति डा. रामवरण यादवका राजनीतिक सल्लाहकार हरि शर्मा, पूर्वमहान्यायाधिवक्ता महादेव यादवलगायतको नाम भने सूचीमा नपरेको बताइन्छ। कांग्रेस नेता तथा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भने नाम टुंगो नलागेको बताए। ‘कोको हुने भन्ने टुंगो लागिसकेको छैन, छलफलमा नै छौं, केही दिनमा नै टुंगोमा पुगिन्छ,’ मन्त्री महतले राजधानीसँग भने, ‘आउँदो मन्त्रिपरिषद् बैठकबाट निष्कर्षमा पुगिन्छ।’
स्रोतका अनुसार कांग्रेसले छानेका सम्भावित नामहरू पार्टीका शीर्ष नेताहरूका भागबन्डामा छानिएको हो। जसमा राजभण्डारी र प्याकुरेल सभापति देउवाको तर्फबाट हुन् भने पोखरेल र भट्टराई वरिष्ठ नेता रामचन्द्र पौडेलका तर्फबाट परेको बताइएको छ। गृहमन्त्री विमलेन्द्र निधि आफ्ना निकटकालाई राजदूत बनाउन लागिपरेका छन्। निधिका तर्फबाट एकजना पर्ने सम्भावना छ। उदास, ज्ञवाली, र अधिकारीमध्ये दुईजनालाई उनले राजदूत बनाउन चाहेका छन्।
यता सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले भने यसअघि नै टुंग्याएको नामलाई निरन्तरता दिने बुझिएको छ। अघिल्लो एमाले गठबन्धन सरकारका पालामा माओवादी केन्द्रबाट कतारका लागि महेन्द्रबहादुर सिंह, अस्ट्रेलियाका लागि लक्की शेर्पा, डेनमार्कका लागि युवनाथ लम्साल र बहराइनका लागि पदम सुन्दास सिफारिस भएका थिए। सरकार परिवर्तन भएसँगै उनीहरूको नाम फिर्ता भएको थियो। यस्तै, राप्रपाबाट निरञ्जन थापा, प्रतिभा राणा र खगेन्द्र बस्नेतको नाममा तयारी भइरहेको छ। तर, राप्रपा राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भने पार्टीमा राजदूत नियुक्तिका विषयमा छलफल नै नभएको बताए। उनले नियुक्तिजस्ता विषयलाई पार्टीको विधानअनुसार निर्देशन समितिबाट छलफल गरेर मात्र टुंगो लगाउनुपर्नेसमेत बताए।
हाल साउदी अरेबिया, दक्षिण कोरिया, इजरायल, बहराइन, कतार, ओमन, दुबई, जापान, बंगलादेश, श्रीलंका, डेनमार्क, अस्ट्रेलिया र म्यानमारमा राजदूत रिक्त छन्। गत वैशाखमा केपी ओली नेतृत्वको सरकारले २२ देशका लागि राजदूतहरू नियुक्तिको सिफारिस गरेको थियो। जसमा आठजना परराष्ट्र सेवाबाट नियुक्ति भए पनि राजनीतिक भागबन्डाका राजदूत सरकार परिवर्तन भएसँगै फिर्ता गरिएको थियो।
यसैबीच, खाली रहेका देशमध्ये ओमन र बहराइनमा भने पहिलोपटक राजदूत पठाइन लागिएको हो। तत्कालीन प्रधानमन्त्री शुशील कोइरालाको तेतृत्वमा रहेको सरकारका पालामा भएको निर्णयानुसार ती देशमा समेत राजदूत पठाउने तयारी भएको हो।