जेठमा निर्वाचन नहुने संकेत

माघ २५, काठमाडौं – निर्वाचन सम्बन्धी महत्वपूर्ण काम गर्नुपर्ने बेला दुई साताका लागि संसद स्थगन गरिएकाले जेठभित्रै चुनाव हुने सम्भावना टर्ने देखिएको छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

समयको चापअनुसार संसदले निर्वाचनसँग अन्तरसम्बन्धित कानूनहरु तत्काल पारित र संविधान संशोधनको विषयलाई टुंग्याउनुपर्ने थियो । तर तिनलाई अलपत्र राखेर फागुन १० सम्म संसद स्थगित गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गत शुक्रबार मधेसी मोर्चासँग छिट्टै संविधान संशोधनसम्बन्धी विधेयक टुंगो लगाएर चुनावमा जाने बताएका थिए । दाहालसँगको छलफलपछि आइतबार मधेसी मोर्चाका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलमा बसे ।
देउवाले पनि संसदबाट छिट्टै संशोधन विधेयक पारित गर्न र त्यसका लागि दुई तिहाई जुटाउन पहल गर्ने आश्वासन दिए । दुई नेताले आश्वासन दिएको २४ घण्टा नबित्दै त्यही संशोधन विधेयक पारित गर्न आवश्यक पर्ने संसदको बैठक भने स्थगित गर्ने निर्णयमा सत्ता पक्ष पुग्यो ।
यसले न संविधान संशोधन प्रक्रिया अगाडि बढ्ने भयो न निर्वाचनसम्बन्धी बाँकी कानूनहरु पारित हुने भयो ।