उपत्यकाका विभिन्न स्थानमा स्याटलाइट सिटी बनाइने

माघ २१ , काठमाडौंं – काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा स्याटलाइट सिटी निर्माण गर्ने भएको छ। पहिलो चरणमा भक्तपुरको गुण्डु, बालकोट, चाँगु र दुवाकोट; दोस्रो चरणमा ललितपुरको भैँसेपाटी, बुङ्मती, छम्पी र तेस्रो चरणमा काठमाडौँको साँखु र काभ्रेस्थलीमा स्याटलाइट सिटी निर्माण गरिने भएको छ। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।

ती स्थानमा स्याटलाइट सिटी निर्माणका लागि सरकारले सम्भाव्यता अध्ययन गरिसकेको र अब विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)को काम अगाडि बढाइने काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ।
प्राधिकरणका योजनाविद् भागवतभक्त खोकालीले अबको १५ वर्षमा उपत्यकाका केही स्थानमा आधुनिक सहर निर्माण गरिसक्ने गरी सरकारले स्याटलाइट सिटी निर्माण गर्न लागेको जानकारी दिए। काठमाडौँ सहर अव्यवस्थित र साँघुरो बन्दै गएको र अब त्यस्तो नहोस् भन्नका लागि सरकारले उपत्यकाको निश्चित स्थानमा स्याटलाइट सिटी निर्माण गर्न लागेको हो।
स्याटलाइट सिटी निर्माणको कामका लागि अहिले विशेषज्ञसहितको टोलीले सम्भाव्यता अध्ययन गरिसकेको र एक वर्षभित्र डीपीआर तयार गर्ने र सोका आधारमा स्याटलाइट सिटी निर्माणको काम अगाडि बढ्नेछ।
सहरी विकास मन्त्रालयले यस वर्षको कार्यक्रममा प्रस्तावित स्याटलाइट सिटी निर्माणका लागि डीपीआर तयार गर्न १४ करोड रुपियाँ विनियोजन गरेको छ।
सरकारले ललितपुरको विभिन्न स्थानमा प्रस्ताव गरेको स्याटलाइट सिटी निर्माणका लागि एक लाख रोपनी र काठमाडौँ र भक्तपुरमा प्रस्तावित सिटी १० हजार रोपनी क्षेत्रमा बन्ने तयारी भएको छ। यसका लागि बजेट विनियोजन भइसकेको र चाँडै काम अगाडि बढ्ने खोकालीले बताए।
सिटी निर्माण गर्दा सरकारले तोकेको जमिनलाई प्राधिकरणले टाउन प्लानिङ गर्नका लागि ल्यान्डपुलिङ गर्नेछ र सो क्षेत्रमा विद्युत्, पानी, ढल, फोहोर व्यवस्थापन, सञ्चार, शैक्षिक क्षेत्र, खेलमैदान र भौतिक पूर्वाधार, पर्यटकीय स्थान, धार्मिक तथा सांस्कृतिक स्थान र मनोरञ्जन पार्कलगायतका स्थानसमेत छनोट गरिनेछ।
सरकारले सबै पूर्वाधार भइसकेकपछि पुलिङ गरिएको जमिन पुनः जग्गाधनीलाई फिर्ता गर्नेछ। उक्त क्षेत्रमा जग्गाधनीले घर निर्माण गर्दा प्राधिकरणको मापदण्ड अनुसार मात्र निर्माण गर्नुपर्ने व्यवस्था रहनेछ। ‘जमिन ल्यान्डपुलिङ गर्दा व्यक्तिको जग्गा केही अंश बाटोमा जाने हुँदा सो जग्गाको क्षतिपूर्ति सरकारले दिनेछ, उनले भने। सो क्षेत्रमा भित्री सडक न्यूनतम छ मिटर र बाहिरी सडक २२ मिटरको हुनुपर्नेछ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले उपत्यकाभित्र अनावश्यक जग्गा किनबेचको चलखेल हुने भएकाले स्याटलाइट सिटी निर्माणको कुरालाई व्यापक रूपमा प्रचारमा नल्याएको बताए।
स्याटलाइट सिटी निर्माण हुनेमा कुनै शङ्का छैन, सरकारले केही काम अगाडि बढाएपछि स्थानीयवासीसँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछ। अन्य देशमा स्याटलाइट सिटी निर्माण हुने गरे पनि नेपालमा भने स्याटलाइट सिटी पहिलो हुनेछ।
उनका अनुसार स्याटलाइट सिटी निर्माण भएपछि उक्त स्थान आधुनिक सहरका रूपमा विकास हुने र सुविधासम्पन्न बन्नेछ। सबै काम कुनै पनि अवरोधबिना सरासर हुने हो भने करिब १५ वर्षमा सबै काम सम्पन्न भई उपत्यकामा स्याटलाइट सिटी निर्माण भइसक्ने दाबी तिवारीको छ।