लोकतन्त्र र अग्रगमन सहिदका बलिदानको परिणाम – राष्ट्रपति भण्डारी

माघ १६,काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र र अग्रगमन महान् सहिदका त्याग तथा बलिदानको परिणाम हुन् भन्दै उहाँहरूले राष्ट्रनिर्माणको महायज्ञमा स्वतः समाहित हुने प्रेरणा प्रदान गर्नुभएको बताएकी छन्।

सहिद दिवसका अवसरमा आज दिनुभएको सन्देशमा राष्ट्रपतिले आदरणीय ज्ञात–अज्ञात सहिदका सपना साकार पार्न यो दिवसले प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी हुन्।

सन्देशमा उनले वीर, अमर, त्यागी र भविष्यद्रष्टा सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा राजनीतिक सहमतिमार्फत शान्ति, विकास गर्न सकेमा मात्र सहिदहरूप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जलि हुने भएकाले त्यसतर्फ हामी सबै नेपाली एकताबद्ध भएर मन, वचन र कर्मले लाग्न जरुरी भएको बताइन्।

राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता एवम् मानवअधिकारको रक्षाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरू शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र नेपाली माटोले जन्माएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति राष्ट्रपतिले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिन्।