साढे पन्ध्र सय मिटरले मेलम्चीलाई तनाव

माघ ११, काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको सुरूङमा खराब चट्टान भेटिएपछि सुरूङ खन्ने काममा समस्या आएको छ। सुरूङ खन्ने काममा समस्या आएपछि तोकिएकै समयमा आयोजना नबन्ने होकि भन्ने आशंका समेत बढेको छ।

पुस १३ गते सुन्दरीजलदेखि सिन्धुसम्मको साढे ९ किलोमिटर सुरूङमा ब्रेक थ्रु भएपछि आयोजनाप्रति धेरैको आशा बढेको थियो। असोजसम्म पानी काठमाडौं ल्याउने र यो आर्थिक वर्षसम्म सुरूङको काम सक्ने आयोजनाको लक्ष्य छ।
सुरूङ खन्दै जादा भेटिएको खराब चट्टान लामो दुरीसम्म भेटियो भने काममा समस्या आउन सक्ने देखिएको छ। जनवरीमा सुरुङ खन्ने कामको प्रगति कम भएको मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दवाडीले सेतोपाटीलाई बताए।
‘सिन्धु–ग्यालथुम खण्डमा खराब चट्टान भेटिएकोले सुरुङको काममा प्रगती हुन सकेको छैन, ’दवाडीले भने, ‘प्रविधि बढाएपछि ग्यालथुमदेखि अम्बाथानसम्म सुरूङ खन्ने काममा भने केही प्रगती भएको छ।’
हेलम्बुको रिबरमादेखि सुन्दरीजलसम्म २६ किलोमीटर सुरूङ मध्ये सिन्धुदेखि ग्यालथुमसम्मको २५ सय मिटर र ग्यालथुमदेखि अम्बाथानसम्मको २६ सय मिटर सुरुङ खन्न बाँकी रहेको दवाडीले बताए।
ग्यालथुमदेखि अम्बाथानसम्मको सुरूङको काम दैनिक ६ मिटर भन्दा बढीको दरले खनिएको छ। तर, सिन्धुदेखि ग्यालथुमसम्मको क्षेत्रमा भने सुरुङ खन्ने काम निकै सुस्त गतिमा भइरहेको छ।
ग्यालथुम–सिन्धु खण्डमा दैनिक ३ मिटरको दरले सुरूङ खन्ने काम भइरहेको छ । तर सिन्धु–ग्यालथुम खण्डमा भने मुस्किलले २ मिटरको दरले मात्रै सुरुङ खनिएको छ। यो क्षेत्रमा खराब चट्टान आउने क्रम नरोकिएकोले काममा प्रगती हुन नसकेको दबाडीले बताए ।
यस्तो ठाउँमा सुरुङ खन्दा जनशक्ती बढाएर मात्रै नहुने उनले बताए। ‘जनशक्ती भन्दा पनि प्रविधिको गुणस्तरमा सुधार गर्नुपर्छ, ’उनले भने, ‘हामीले नयाँ र गुणस्तरीय प्रविधि ल्याएर भ एपनि काम गर्न ठेकेदार कम्पनीलाई भनेका छौ। आवश्यक परेमा भन्सारमा छुटको व्यवस्था समेत मिलाइरहेका छौ,’
अहिले काममा ढिलो भएको आयोजना, सरकार र ठेकेदार कम्पनी कसैको कारणले नभई भौगोलिक कारणले भएको उनले बताए।
सिन्धु–ग्यालथुम खण्डको दुरी साढे १५ सय मिटर रहेको छ। यही क्षेत्रमा देखिएको खराब चट्टानको कारणले आयोजनामा ढिलाइ हुने त होइन भन्ने आशंका समेत बढेको छ। असोजसम्म काठमाडौंका धारामा पानी ल्याउने आयोजनाको लक्ष्य छ ।