खानेपानी समस्या नेपालको आधारभूत समस्या -प्रधानमन्त्री ‘प्रचण्ड’

पुष २६, काठमाडौ— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खानेपानीको हक जनताको मौलिक हक भएको भन्दै खानेपानीको समस्या नेपालको आधारभूत समस्या भएको बताएका छन् । मेघौलीमा रहेको साना शहरी खानेपानी आयोजनाको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संविधानमा खानेपानीलाई जनताको मौलिक हकको रुपमा व्यवस्था गरिएको बताए ।

उनले भने – यसको व्यवहारिक कार्यान्वयन अहिलेको मूख्य दायित्व हो । यस्ता आयोजनाहरुले त्यस्तो व्यवस्थाको कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेका छन् ।’
उनले चितवनको समग्र विकासको प्याकेज छिट्टै ल्याउने बताए । उनले भने – ‘बन्यजन्तुको आक्रमणबाट संरक्षणका लागि तारजालीको व्यवस्था गरिनेछ ।
मेघौली एयरपोर्ट पून सञ्चालनको व्यवस्था गरिनेछ । नारायणगढ—गोलाघाट मोटरबाटो र गोलाघाट पुल निर्माणमा मेरो गम्भीर ध्यान गएको छ । ठोरीदेखि केरुङसम्म जोड्ने बाटो निर्माणका लागि सरकारको तर्फबाट पहल भइरहेको छ । चितवनको विकासका निम्ति सधैं साथमा छु, छिट्टै चितवनको विकासको प्याकेज ल्याउनेछु ।’
कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेल, भूमिसुधार तथा व्यवस्था मन्त्री बिक्रम पाण्डे, सांसद रुक्मिनी चौधरी, पूर्व उपप्रधानमन्त्री अमिक शेरचन लगायतको उपस्थिति रहेको थियो ।