एनजिओको आसमा सरकारी राहत छाड्ने दुःखमा

पौष २२,दोलखा – दोलखा फूलबारी बस्तीका ३३ वर्षीय मीनबहादुर तामाङले सरकारी अनुदानको ५० हजार रुपैयाँ लिएका छैनन् । गैरसरकारी संस्था एसओएस नेपालले घर बनाइदिने भएपछि उनले अनुदान लिएनन् । तर, एसओएस नेपालले उनको घर अझैसम्म बनाइदिएको छैन । ‘एसओएसले घर बनाइदिने भन्यो । त्यसो हुँदा सरकारले दिन ५० हजार पनि लिइनँ । तर, अझै घर बन्न सकेको छैन । बाख्रापालनका लागि भने ३० हजार रुपैयाँ सहयोग गरेको छ । घर नबनेकाले जस्ताको टहरोमै बस्नुपरेको छ,’ उनले भने । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

घर बनाउन आएको सहयोग श्रीमान्को उपचारमा
फूलबारी बस्तीकै ६० वर्षीय साङडोल्मा तामाङले पनि सरकारले अनुदानस्वरूप बाँडेको ५० हजार रुपैयाँ पाइनन् । एसओएस नेपालबाट सहयोग लिने भएपछि उनले पैसा नलिएकी हुन् । घर बनाउन एसओएसले तामाङ परिवारलाई दुई लाख रुपैयाँ दिएको थियो । तर, त्यो रकम उनले श्रीमान्को उपचारमा सकिन् । अब उनीसँग घर बनाउने पैसा छैन । त्यसैले उनी जस्ताको टहरोमै आगो तापेर जाडो कटाउँदै छिन् । ‘एसओएसले घर बनाउन दुई लाख दिएको थियो । श्रीमान् मुटुको रोगी भएकाले त्यो रकमले उपचार गरेँ । अब घर बनाउने पैसा छैन,’ उनले भनिन् ।
चिसोमा भाँडा माझ्दै गरेको अवस्थामा भेटिइन् २७ वर्षीया निर्मला तामाङ । भूकम्पले घर भत्काएकाले उनको बास जस्ताकै छाप्रोमा छ । उनलाई न त सरकारले सहयोग गरेको छ, न त कुनै एनजिओ–आइएनजिओले नै । ‘सबैले सहयोग पाए, तर मैले पाउन सकिनँ । मेरो नाम किन अनुदान सूचीमा परेन थाहा पाइनँ । जस्ताको टहरामा कसरी जाडो कटाउने हो थाहा छैन,’ उनले पीडा पोखिन् ।

५० हजारले घरको जग खार्नै पुग्दैन

बाहिर हल्का हिउँ फुसफुसाउँदै छ । ४५ वर्षीय मिस्री तामाङ जस्ताको टहरामा आगो फुक्दै छिन् । आगो दन्किन थाल्यो । दिउरेमा रक्सी तताइन् । गिलासमा हालिन् अनि स्वाट्टै पारिन् । ‘फेरि हिउँ पर्न थाल्यो । साह्रो जाडो भएकाले भगाउन रक्सी तताएर खाएको हो । यसो नगरी त दिन कटाउनै मुस्किल भयो,’ उनले भनिन् ।
दसैँअघि नै उनले अनुदानस्वरूपको ५० हजार रुपैयाँ लिइसकिन् । तर, अझैसम्म घरको जग खार्न सकेकी छैनन् । अनुदान रकमले घर बनाउन नपुग्ने भएपछि के गर्ने–नगर्ने अन्योलमा परेको उनले सुनाइन् । ‘५० हजार त लिइयो । त्यो पैसाले जग खार्न पुग्दैन । के गर्नु त्यति पैसा ? जाडो छ । घर बनाउन पाए त तातोमा बस्नुहुन्थ्यो । तर, घर बनाउने पैसा पनि आफूसँग छैन,’ उनले गुनासो पोखिन् ।