मलेसियामा बैदेशिक रोजगारले अबदेखि लेबी तिर्नु नपर्ने


पुस १७, काठमाडौ—धेरै नेपाली रोजगारका लागि जाने मलेसियामा बैदेशिक रोजगारले अबदेखि लेबी तिर्नु नपर्ने भएको छ । यो नियमले  मलेसियामा काम गर्न जाने रोजगारलाई फाइदा पुग्ने छ ।
मलेसियाका गृहमन्त्री अहमद जायिद हमिदिले एक कार्यक्रममा सम्बोधन गर्दै रोजगारदाताले लेबी तिर्नुपर्ने नियम ल्याएकोले बताउनुभयो । गृहमन्त्री हमिदिको सो घोषणापछि मलेसियाका आप्रवासी श्रमिक खुसी भएका छन् । मलेसियामा कार्यरत नेपाली सहितका आप्रवासी श्रमिकले रोजगारी गरे बाफत प्रतिवर्ष २५ हजार रुपैयाँ लेबीस्वरुप मलेसियन सरकारलाई तिर्दै आएका थिए । जनवरी १ बाट त्यहाँको रोजगारदाता कम्पनीले नै सरकारलाई तिर्नुपर्ने लेबी नयाँ व्यवस्था लागू भएकाले ५ वर्षदेखि श्रमिकबाट असुल्दै आएको रकम रोजगारदाताले नै व्योहोर्नु पर्ने भएको हो । सो नियमपछि मलेसियामा रहेका ५ लाख भन्दा बढी नेपाली श्रमिक लाभाविन्त हुने छन् । मलेसिया सरकारले गत वर्ष आप्रवासी श्रमिकहरुको लेबी शुल्कमा दोव्वरले वृद्धि गरेको थियो । मलेसिया सरकारलाई कामदारले सन् २००९ अघि सम्म विदेशी कामदार स्वयंले लेबी रकम तिर्नुपर्दथ्यो । त्यसपछि सोही वर्ष अप्रिलदेखि नीतिमा फेरबदल गर्दै रोजगारदाताले नै तिर्नुपर्ने नीति ल्यायो । पछि सन् २०१२ मे १ देखि न्यूनतम पारिश्रमिक नीति लागू भएसँगै उसले पुन कामदारले नै लेबी रकम बुझाउनुपर्ने भन्दै पूरानो नीति उल्टाएको थियो । यसरी पटक पटक लेबी नीति परिवर्तन भएर पछिल्लोपटक रोजगारदाताले नै तिर्नुपर्ने भएको हो ।