वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन

पुस १४, काठमाडौं — नेपाली भाषा–साहित्यसेवी कमलमणि दीक्षितको बिहिबार बिहान निधन भएको छ । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्षसमेत रहेका दीक्षितको ८७ वर्षको उमेरमा आज बिहान २:४५ बजे ललितपुरमा निधन भएको हो।

केही महिना यता दीक्षितको श्वास प्रश्वास प्रकृयामा समस्या देखिएको थियो। पिता केदारमणि आचार्य तथा माता विद्यादेवी दीक्षितका माहिला पुत्रका रूपमा १९८६ भदौ, कुशे औँसी (सन् १९२९ अगस्त २) का दिन काठमाडौंको गैरीधारामा उनको जन्म भएको थियो।
दीक्षितको सकृयतामा नेपाली भाषा तथा साहित्यसँग सम्बन्धित सामग्रीहरूको अभिलेख राख्‍ने उद्देश्यका साथ २०१२ सालमा मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीको स्थापना भएको थियो। गुठी मार्फत् नेपाली भाषामा प्रकाशित हुने उत्कृष्ट पुस्तकका निम्ति प्रदान गरिने मदन पुरस्कार (२०१२ सालदेखि) र नेपाली भाषाको श्री-वृद्धिका लागि योगदान वापत प्रदान गरिने जगदम्बा-श्री पुरस्कार (२०४५ सालदेखि) प्रदान गरिदै आएको छ।
यससँगै उनी मदन मेमोरियल स्कुल, साझा प्रकाशन, गोरखापत्र संस्थान, रोटरी क्लब, जनक-जानकी सभा, बीपी कोइराला संग्रहालय समिति, बीपी कोइराला नेपाल-भारत प्रतिष्ठान आदि जस्ता दर्जनौं भाषिक, साहित्यिक, सांस्कृतिक संस्थाहरूमा सक्रिय थिए।
छ दर्जनभन्दा धेरै पुस्तकको लेखन तथा सम्पादन गरेका दीक्षितका दुई हजारभन्दा धेरै फुटकर रचनाहरू प्रकाशित छन्। लेखनको शुरूका वर्षमा अनुसन्धानमुलक लेख तथा पुस्तकका कारण चर्चित दीक्षित पछिल्लो समयमा भने नियात्रा, निबन्ध, संस्मरण तथा पुस्तक र प्रकाशन क्षेत्रका विषयमा फुटकर लेख तथा स्तम्भ लेखनमा सक्रिय रहे।
दीक्षितको अन्त्येष्टी आज बिहान ७ बजे पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ। दीक्षितका दुई छोरा र एक छोरी छन्।