सुरक्षाको ग्यारेन्टी भएमात्र नाका खुल्ने

पुस ७, काठमाडौं — सीमा जोडिएका वैकल्पिक नाका र भञ्ज्याङको सुरक्षा भरपर्दो भए ती नाकाहरु खोल्न सकिने चिनियाँ अधिकारीहरुले बताएका छन् । भूकम्पपछि बन्द भएको तातोपानी नाका र अन्य नाका खोल्न चीनले सुरक्षा र एक चीन नीतिमा भरपर्दो प्रत्याभूति खोजेको हो ।

स्रोतका अनुसार उनीहरुले विगतमा जस्तो खुल्ला भने हुन नसक्ने बताएको छ । सिन्धुपाल्चोकको तातोपानी र रसुवागढी–केरुङ बाहेक अन्य नाकालाई व्यापारिक प्रयोजनका लागि खुलाउन चीनले भरपर्दो सुरक्षा प्रत्याभूति मागेको गृह मन्त्रालय उच्च स्रोतले बतायो ।
तातोपानी सञ्चालनमा नआउँदा वार्षिक सरदर २० अर्बको कारोबार बन्द भएको सरकारी अधिकारीहरू बताउँछन् भने त्यस नाका भएर ब्यापार गर्ने ब्यापारीहरुका अनुसार सरकार भन्दापनि ब्यापारीहरु बढी मारमा परेका छन् ।

नेपाल र चीनबीच १ हजार ४३९ किमि क्षेत्रभित्र जोडिएको छ भने दुवै मुलुकका नागरिकहरु परिचयपत्र देखाएर आफ्नो नागरिकतामा भएको स्थायी ठेगानाबाट ३० किमि वारपार गर्न पाउने सन्धि छ । भूकम्पपछि राहत तथा उद्धारको क्रममा खासामा फ्रि तिब्बत सम्बन्धी धेरै महत्वपूर्ण कागजात फेला परेको सीमामा रहेका नेपालीहररुले यसमा सहयोग गर्ने गरेको सुराक पाएपछि चिनियाँ अधिकारीहरु यसमा बढी नै संवेदनशील बनेको स्रोतले जानकारी दिएको छ ।

विशेष गरी पश्चिमा देशका जासुसहरु र दलाई लामाका सकर्थकहरुले नेपालीहरुलाई आर्थिक प्रलोभनमा पारेर विभिन्न अवाञ्छित क्रियाकलाप गरिरहेकोप्रति गोप्य रुपमा त्यतिबेला नै नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको थियो । नेपाली नाकामा तैनाथ सुराक्षाकर्मीलाई समेत उनीहरुले प्रयोग गरेको चिनियाँहरुको दावी थियो ।
नेपाल र चीनबीच एक दर्जनभनदा बढी नाका संचालन हुनसक्छ । यसैबिच बिहीबार सभामुख ओनसरी घर्तीको निमन्त्रणामा चीनको स्वशासित क्षेत्र तिब्बतका प्रशासनिक प्रमुख बाई मा चिलिमको नेतृत्वमा उच्च स्तरीय चिनियाँ अधिकारी ६ दिने नेपाल भ्रमणमा आएका छन् ।