नेपाललाई थप एयर रुट दिन भारत सहमत

पुस ६ , काठमाडौं – नेपाललाई अन्तर्राष्ट्रिय उडानका लागि थप एयर रुट दिन भारत सरकार सैद्धान्तिक रूपमा सहमत भएको छ। दुवै देशका नागरिक उड्डयन मन्त्रालयका अधिकारीबीच मंगलबार नयाँदिल्लीमा सुरु भएको वार्तामा भारतले नेपाललाई थप एयर रुट दिन सैद्धान्तिक रूपमा सहमति जनाएको हो। यो खबर हामीले आजको कान्तिपुर दैनिकबाट लिएका हौ।

दुई देशबीच थप एयर रुट तथा अन्य उड्डयन विषयमा छलफल भइरहेको छ। वार्ताको नेतृत्व नेपालका तर्फबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र भारतका तर्फबाट उड्डयन मन्त्रालयका सहसचिव अरुण कुमारले गरेका थिए। वार्ता बुधबारसमेत चल्ने छ।
हाल सिमराको रुटबाट मात्र अन्तर्राष्ट्रिय जहाजहरू नेपाल भित्रिने गरेका छन्, जसका कारण नेपालले एयर ट्राफिकको समस्या झेलिरहनु परेको छ। नेपाली टोलीले जनकपुर, भैरहवा, नेपालगन्ज र महेन्द्रनगरबाट पनि नेपाललाई अन्तर्राष्ट्रिय एयर रुटहरू दिन भारतलाई आग्रह गरेको छ। वार्तामा सहभागी एक नेपाली अधिकारीका अनुसार भारतले जनकपुरबाट तत्काल एयर रुट दिन सकिने सकिने जनाए पनि अन्य रुटका सम्बन्धमा भने थप प्राविधिक आन्तरिक छलफल आवश्यक पर्ने अवगत गराएको छ।
‘हामीले राखेको प्रस्तावमा भारतीय पक्ष लचक देखिएको छ। दुवै पक्षको प्राविधिक टोलीले आगामी फेब्रुअरीमा वार्ता गरेर सैद्धान्तिक सहमतिलाई अन्तिम रूप दिने समझदारी भएको छ,’ आचार्यले भने। उनका अनुसार भारतीय पक्षले नेपालले मागेका एयर रुटका सम्बन्धमा आन्तरिक रूपमा अन्य सरोकारवाला निकायसँग छलफल आवश्यक पर्ने बताएको छ। विशेषत: भारतको रक्षा मन्त्रालयसँग छलफल आवश्यक पर्ने भारतीय पक्षले जानकारी गराएको छ।
भारतले चारवटै नाकाबाट दिन नसके पनि कम्तीमा २ अथवा ३ ठाउँबाट एयर रुट दिएमा नेपाललाई सहज हुने वार्तामा सहभागी नेपाली अधिकारीले कान्तिपुरलाई बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई वर्ष अगाडिको नेपाल भ्रमणको समयमा यो विषयलाई तत्काल समाधान गर्ने सहमति बनेको थियो। उच्च तहमा पटक पटक वार्ता भए पनि यस विषयमा सहमति हुन सकेको थिएन।
त्यतिबेला भारतले नागरिक उड्डयन मन्त्रालयका सहसचिव सहसचिव अरुण कुमारको नेतृत्वमा एउटा समितिसमेत बनाएको थियो। भारतले थप एयर रुट दिएमा नेपालले निर्माण गर्न लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाजस्ता क्षेत्रीय विमानस्थलहरूबाट अन्तर्राष्ट्रिय उडान गर्न सहज हुने विश्वास नेपाली अधिकारीको छ।
गत अगस्टमा भारतले नयाँ उड्डयन नीति ल्याएको छ। भारतले सार्क मुलुकबीचमा खुला आकाश नीति अपनाउने विषयमा सम्झौता गर्ने भएको छ। उक्त नीतिका अनुसार मंगलबारको वार्तामा भारतले खुला आकाश नीतिमा सम्झौताका लागि समेत आग्रह गरेको छ। नेपालले भने पर्याप्त रूपमा पूर्वाधार विकास भइनसकेका कारण अहिले नै यो नीतिमा जान नसकिने बताएको बैठकमा सहभागी एक अधिकारीले बताए। नेपालले अध्यागमनमा भोगिरहेका समस्या समाधानका लागि पनि भारतीय पक्षलाई आग्रह गरेको छ।