त्रिविको इतिहास लेखिँदै

पुस ४ , काठमाडौं – स्थापनाको आधा दसकपछि त्रिभुवन विश्वविद्यालय आफ्नो आधिकारिक इतिहास लेख्ने अभियानमा जुटेको छ। नेपालको पहिलो विश्वविद्यालय भए पनि लिखित आधिकारिक इतिहास नभएको र यसबाट विश्वविद्यालय सञ्चालनमा केही असुविधा भएको महसुस गरिएपछि प्राध्यापक विश्वविद्यालयको इतिहास लेखनमा जुटेका हुन्। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।
विश्वविद्यालयले यसका लागि इतिहास केन्द्रीय विभागका प्रा. डा. भगेश्वर पङ्गेनीको संयोजकत्वमा एक समिति गठन गरेको छ र हाल उक्त समितिले इतिहासको खोजी सुरु गरेको छ। समितिका संयोजक पङ्गेनीले विश्वविद्यालयको इतिहास लोप हुने खतरा भएपछि त्यसको खोजी गर्ने कार्यमा आफूहरू जुटेको जानकारी दिए। उक्त समितिले विश्वविद्यालयको स्थापना र सञ्चालन, भौतिक संरचना, इतिहास लगायतका विषयमा खोजी गर्ने जिम्मेवारी पाएको छ।
जानकारका अनुसार त्रिविभन्दा अघि नेपालमा उच्च शैक्षिक संस्थाको स्थापना तथा सञ्चालन भइरहेको भए पनि विश्वविद्यालय स्थापना हुन सकेको थिएन। त्रिविको स्थापना गर्ने बहस २०१२ सालमा सुरु भए पनि विश्वविद्यालयको औपचारिक स्थापना २०१६ सालमा भएको थियो। विश्वविद्यालय स्थापना हुनुभन्दा अघि नेपालमा झण्डै दुई दर्जन क्याम्पस सञ्चालनमा थिए तर ती सबै भारतको पटना युनिभर्सिटीसँग आबद्ध थिए।
प्राध्यापकका अनुसार तत्कालीन अवस्थामा सञ्चालित दुई दर्जनभन्दा बढी कलेजलाई सम्बन्धन दिने र नयाँ विषयको औपचारिक पठनपाठन गर्ने मुख्य उद्देश्यले विश्वविद्यालयको स्थापना गरिएको हो। त्रिविको स्थापनापछि सञ्चालित दुई दर्जनभन्दा बढी कलेज भारतीय विश्वविद्यालयसँगको सम्बन्धन छोडेर त्रिविमा आबद्ध भएका थिए।
लिखित इतिहासको खोजीका क्रममा अध्ययन समितिका प्राध्यापकले हालै भारतको पटना युनिभर्सिटीबाट लिखित दस्तावेज सङ्कलन गरेको जानकारी संयोजक पङ्गेनीले दिए। यसबाहेक कोलकाता र बनारसका विश्वविद्यालयसँग पनि त्रिविका केही लिखित दस्तावेज हुन सक्ने भएकाले त्यसका लागि समेत प्रयास गरिने जानकारी प्राध्यापकले दिएका छन्।